खेल

काभा बिच भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य

नेपालका पुरुष र महिला टोलीले भुटानमा हुने काभा बिच भलिबलमा च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा आगामी असोज १७ गतेदेखि १९ गतेसम्म हुँदैछ।

उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट महिलामा कमला पुन र मनीषा चौधरी तथा पुरुषमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्न लागेका हुन्।

उनीहरूलाई रूपेश विष्टले प्रशिक्षण दिनेछन्। नेपाली टोलीलाई आइतबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका निमित्त सदस्यसचिव अन्जन धमला र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका थिए।

नेपालले उक्त च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ। यद्यपि, नेपाली टोलीले तयारी भने पर्याप्त गरेको छैन। महिला टोलीले १५ दिन र पुरुष टोलीले एक हप्ता मात्र प्रशिक्षण गरेका छन्।

नेपालले दुई वर्ष अगाडि मात्र बंगलादेशको कक्स बजारमा सम्पन्न एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेका थिए। त्यतिबेला पनि पुरुषमा मानबहादुर र दिलबहादुर तथा महिला कोपिला र कमला पुनको जोडीले रजत पदक जितेका हुन्।

यस पटक कोपिलाको स्थानमा मनीषा छिन्। पाल्पामा भएको सन्जय स्मृति बिच भलिबलमा च्याम्पियन जोडी कमला र मनीषालाई थिम्पुको लागि छनोट गरिएको नेपाल भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए।

पुरुषमा भने कीर्तिपुरमा भएको प्रतियोगिताबाट छनोट आधार मानिएको संघले जनाएको छ। थिम्पुमा हुने बिच भलिबलमा पुरुषमा १० टिम र महिलामा ७ टिमको प्रतिस्पर्धा रहनेछ।

महिलामा नेपालसहित मालदिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालका बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन्।

पुरुषमा भने नेपाल, मालदिभ्स, उब्जेकिस्तान, ताजिकिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन्। उक्त च्याम्पियनसिपमा खेल्ने नेपाली टोली सोमबार नै भुटानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १३ श्रावण २०८१ १८:२७ आइतबार

#Kava U-20 Women's Volleyball #Kava Volleyball