खेल

सुमनको स्मृतिमा क्लाइम्बिङ हुने

काठमाडौं – नेपाल क्लाइम्बिङ स्पोटर््स एसोसिएसन (एनसिएसए) र पासाङ ल्हामु प्रतिष्ठानको संयुक्त आयोजनामा वैशाख १९ गते सुमन भोम्जन स्मृति स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता हुने भएको छ।

धुम्बाराहीस्थित पासाङ ल्हामु स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुने प्रतियोगितामा लिड क्लाइम्बिङ र टप रोप गरी दुई विधा समावेश गरिएको एनसिएसएका महासचिव मेघराज पौडेलले बताए।

लिड क्लाइम्बिङमा पुरुष र महिला गरी ५० देखि ५५ तथा टप रोलमा ५० देखि ६० खेलाडी सहभागी हुने पौडेलले अपेक्षा गरे। टप रोलमा नगद पुरस्कारको व्यवस्था गरिएको छैन भने लिड क्लाइम्बिङमा महिला र पुरुष दुवैतर्फका विजेताले जनही १५ हजार रुपैयाँ पाउनेछन्। दुवैतर्फका उपविजेताले जनही १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। 

इन्डोनेसियामा यही वर्ष हुने एसियाली खेलकुद तथा जापानमा दुई वर्षपछि हुने ओलम्पिक खेलकुदमा पनि स्पोर्टस क्लाइम्बिङ खेल समावेश भएको प्रशंग कोट्याउँदै महासचिव पौडेलले आफूहरुले पनि सहभागिताको प्रयास गरिरहेको बताए। ‘हामी यही प्रतियोगिताका विजेता खेलाडीहरूलाई इन्डोनेसियामा हुने एसियाली खेलकुदमा सहभागिताको व्यवस्था मिलाउन नेपाल ओलम्पिक कमिटीमार्फत पहल सुरु गर्नेछौं,’ पौडेलले भने, ‘सरकार, राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीसँग समन्वय गर्दै हामी जापान ओलम्पिकमा पनि नेपाली खेलाडीको सहभागिता पक्का गर्ने प्रयासमा छौं।’

एनसिएसएका अध्यक्ष हरिप्रसाद धरेलले २०७२ वैशाखमा आएको महा विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा प्रत्येक वर्ष प्रतियोगिता गर्ने प्रतिबद्धता जनाए। भोम्जन आबद्ध नेपाल खेलकुद पत्रकार मञ्चसँगको सहकार्यमा हुने प्रतियोगिता भोम्जनको शव फेला परेको दिन गर्न लागेको मञ्चका अध्यक्ष महेश आचार्यले बताए। मञ्चले वैशाख १९ गतेलाई सुमन भोम्जन स्मृति दिवसका रूपमा लिएर उनलाई सम्झिने निर्णय गरेको थियो। 

प्रकाशित: १६ चैत्र २०७४ ०३:०९ शुक्रबार

सुमनको स्मृतिमा क्लाइम्बिङ हुने