खेल

अर्जेन्टिना र मोरक्को बीचको खेल विवादित

पेरिस ओलम्पिकको पहिलो फुटबल खेल चर्चामा आएको छ। मोरक्को र अर्जेन्टिनाबीचको पहिलो फुटबल खेलमा विवाद हुँदा २ घन्टा रोकिएको विषय चर्चामा आएको हो।

दुई देशबीचका समर्थकहरू बीचको विवादका कारण खेल २ घन्टाका लागि रोकिएको थियो। ओलम्पिकको पहिलो खेलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ ले पराजित गर्यो। तर, मोरक्को जितलाई अर्जेन्टिनी समर्थकहरूले विवादित बताउन थालेका छन्।

म्याच सकिनुभन्दा केही समय अघिसम्म मोरक्को २–१ ले अघि थियो। अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्जुरी समयको १६ औँ मिनटमा गोल गरेर २–२ को बराबरी गरे।

मेडिनाको बराबरी गोल पछि खुशियाली मनाइरहेका अर्जेन्टिनी टीममाथि मोरक्कोका समर्थकहरूले बोतल र कप फाल्न थाले। त्यतिमात्र होइन मोरक्कोको समर्थन गर्दै जर्सी लगाएका केही दर्शकहरू फिल्डतर्फ दौडिन थाले। तर, प्रहरीले उनीहरूलाई बाहिर गरिदिए।

समर्थक र विवादका कारण लामो समयसम्म रोकिएको खेल दर्शक बिनै दोहोर्याएर सुरु भयो। वीएआर रिभ्यूको आधारमा अर्जेन्टिनाले इन्जुरी समयमा गरेको गोललाई रद्द गरियो र मोरक्कोले म्याच २–१ ले जित्यो।

मोरक्कोको तर्फबाट दुबै गोल सौफियान रहीमीले गरे।

प्रकाशित: १० श्रावण २०८१ १२:४४ बिहीबार