खेल

इजरायलको खेलका लागि ठूलो मात्रामा प्रहरी परिचालन

विश्व खेलकुदको महाकुम्भ पेरिस ओलम्पिकको उद्घाटन सुरु हुनुभन्दा अगावै फुटबलबाट खेल प्रतिस्पर्धा सुरु भएको छ, जहाँ इजरायल र मालीबीचको खेलका लागि ठूलो मात्रामा प्रहरी परिचालन भएको थियो।

उद्घाटन समारोहभन्दा दुई दिनअगाडि पुरुष फुटबलमा स्पेनले पेरिसमा उज्बेकिस्तानलाई २–१ ले हराउँदा सेन्ट इटिइनमा अर्जेन्टिनाले मोरोक्कोसँग २–२ गोलको बराबरी सामना गरेको छ। शुक्रबार हुने उद्घाटन समारोह नजिकिँदै गर्दा आइओसीका प्रमुखले सन् २०३० को विन्टर ओलम्पिक फ्रेन्च एल्प्सलाई र २०३४ को आयोजना अमेरिकाको साल्ट लेक सिटीलाई आयोजना गर्न दिने निर्णय भएको छ। यद्यपि, अमेरिकी खेल प्रशासनले विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) सँग विवाद जारी राखेमा अमेरिकी सहरलाई यो आयोजनाको जिम्मेवारीबाट हटाइने चेतावनी पनि दिइएको छ।

इजरायलले बुधबार राति मालीसँग फुटबल खेल्दा एक हजार प्रहरीका अधिकारीले सुरक्षा दिएका थिए। फुटबल रंगशालामा हुलदंगा हुने अनुमानसहित सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। इजरायलले पेरिसमा ओलम्पिक सहभागिता निकै चासो र चिन्ताको विषय बनिरहेको छ। गाजामा भएको युद्धका कारण फ्रान्सका केही सांसद र प्यालेस्टाइन ओलम्पिक कमिटीले इजरायललाई ओलम्पिक सहभागिता गराउनबाट रोक लगाउनुपर्ने माग पनि भइरहेको छ।

तर, फ्रान्सका राष्ट्रपति इमान्युल माक्रोनले इजरायली खेलाडीलाई स्वागत गर्दै उनीहरूलाई राम्रो सुरक्षा दिनु आफ्नो देशको दायित्व रहेको प्रतिक्रिया दिएका थिए। विश्वकै उत्कृष्ट रग्बी खेलाडी एन्टोइन डुपोन्टको समर्थनमा स्टेड दी फ्रान्स रंगशालामा घरेलु समर्थकले सम्भवतः भरिनेछन्। जहाँ ओलम्पिकमा रग्बी सेभेन्सको प्रतियोगिता अस्ट्रेलियाले सामोअसँग प्रतिस्पर्धा गरेपछि सुरु हुनेछ। डुपोन्टको राष्ट्र फ्रान्सलाई रग्बीमा स्वर्ण पदकको दाबेदारका रूपमा पनि हेरिएको छ।

फ्रान्सले दुई पटकको ओलम्पिक च्याम्पियन फिजीलाई रोक्न कडा मिहिनेत गरिरहेको छ। फ्रान्स र फिजी दुवै एउटै समूहमा छन्। यो समूहमा यी टोलीले अमेरिका र उरुग्वेसँग पनि प्रतिस्पर्धा गर्ने तय छ। ६ दिनसम्म चल्ने रग्बी सेभेन्स करिब पाँच लाख ५५ हजार समर्थकले हेर्ने आंकलन गरिएको छ।

आइओसीको चेतावनी

अमेरिकी शहरले सन् २०३४ को विन्टर ओलम्पिक आयोजनामा दाबेदारीको सफलता पाएपछि आइओसीले चेतावनी पनि दिएको छ।

उटाह राज्यलाई १० वर्षपछिको विन्टर ओलम्पिकको जिम्मेवारी दिए पनि आइओसीले सचेतना गराएको हो। यो राज्यले सन् २००२ को विन्टर ओलम्पिक पनि आयोजना गरेको थियो। अमेरिकाका सांसदले आयोजनाका बारेमा विवाद सिर्जना गरेमा या विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) लाई आयोजकले बेवास्ता गरेको खण्डमा आयोजना जिम्मेवारी खोसिने आइओसीले चेतावनी दिएको हो। आइओसीका लिगल कमिसनका चेयरमेनका अनुसार आयोजकले वाडाको मान्यता र खेलकुदको भावनालाई मान्ने पक्ष करार सम्झौतामा नै उल्लेख भएको छ।

पछिल्ला दशक अमेरिकाको एन्टी डोपिङ एजेन्सीले वाडाका काम कारबाहीप्रति आलोचना गर्दै आएको छ। अमेरिकाको एन्टी डोपिङ एजेन्सीले सन् २०२१ को टोकियो ओलम्पिकअगाडि चीनका २३ जना पौडीबाज डोपिङ परीक्षणमा असफल भएको रिपोर्ट सार्वजनिक भएको थियो। तर, पछि उनीहरू निर्दोष साबित भए र ओलम्पिक पनि खेले। आइओसीले फ्रान्सलाई पनि सन् २०३० को विन्टर ओलम्पिक आयोजनाको जिम्मेवारी दिँदा केही सर्त राखेका छन्। आयोजना अगाडि आवश्यक वित्तीय अवस्थाबारे सुरक्षाको प्रत्याभूति गराउने पर्ने उल्लेख छ।

शुक्रबार हुने उद्घाटन समारोहअगाडि अप्रत्याशित सुरक्षास्थितिबारे कयौं किसिमका चासो व्यक्त भइरहेका छन्। सिन नदीका वरपर कडा सुरक्षाबीच खेलाडीहरूको परेड सुरु भइसकेको छ। करिब ६ देखि सात हजार खेलाडीले ६ किलोमिटरसम्म सिन नदी र आइफेल टावरमा कडा सुरक्षाबीच हिँड्नुपर्नेछ। नदी छेउछाउका अपार्टमेन्टहरूबाट पनि पाँच लाख मानिसले पेरिसमा हुने उत्सव अवलोकन गर्ने अनुमान गरिएको छ। उद्घाटन समारोहमा अमेरिकाकी पप स्टार लेडी गागाले प्रस्तुति दिने सक्ने अनुमान गरिएको छ। 

प्रकाशित: १० श्रावण २०८१ ०७:०८ बिहीबार