खेल

सम्झनाको सम्झनयोग्य इनिङ

‘प्लेअर अफ द म्याच’ घोषित सम्झनाले ४५ बलमा ११ चौकासहित अविजित रहँदै ७२ रन प्रहार गरिन्। नेपाली टोलीबाट कुनै पनि ब्याटरले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो सर्वाधिक व्यक्तिगत रन हो। यसअघि निवर्तमान कप्तान रुबिना क्षेत्री बेलबासले माल्दिभ्सविरुद्ध ११८ र सीता रानामगरले कतारविरुद्ध ८२ रन प्रहार गरेका थिए।

डम्बुला, साउन ४ (एजेन्सी)– श्रीलंकास्थित रंगिरी डम्बुला अन्तर्राष्ट्रिय स्टेडियममा १७औं ओभरको पहिलो बलमा जब ओपनर सम्झना खड्काले ‘स्क्वायर’ लेगमा चौका प्रहार गरिन्, डक आउटबाट एकै सासमा मैदान पुगेकी कप्तान इन्दु बर्माको आँखा छिनभरमै भरियो। उनको आँखा यसरी भरिनुको एकै कारण हो, नेपालको ऐतिहासिक जित।

नेपालले सन् २०१२ मा चीनको हान्झाउमा भएको एसिसी महिला एसिया कपमै डेब्यु गरेको थियो । त्यसको चार वर्षपछि थाइल्यान्डमा भएको अर्को प्रतियोगितामा पनि नेपाल स्थान बनाउन सफल भयो। तर, यी दुई प्रतियोगितामा आठ खेल खेलेको नेपालले जितको स्वाद बटुल्न पाएको थिएन। त्यसैले तेस्रोपल्ट सहभागिता जनाइरहेको नेपाल यो खराब तथ्य फेर्न चाहन्थ्यो। शुक्रबार भयो पनि त्यस्तै। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो।

यो लक्ष्य नेपालका लागि सानो थिएन। अहिलेसम्म नेपालले १०९ रनभन्दा माथि ‘चेज’ गरेको इतिहास पनि थिएन। तर, पहिलोपल्ट ओपनिङमा उत्रिएकी सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरिन् र नेपालाई २३ बलअघि नै ६ विकेटको सानदार जित दिलाइन्।

उनी भन्छिन्, ‘देशलाई गौरवान्वित गर्ने मौका पाएकोमा म धेरै खुसी छु। म सबैलाई धन्यवाद दिन चाहन्छु ।’ ‘प्लेअर अफ द म्याच’ घोषित सम्झनाले ४५ बलमा ११ चौकासहित अविजित रहँदै ७२ रन प्रहार गरिन्।

नेपाली टोलीबाट कुनै पनि ब्याटरले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो सर्वाधिक व्यक्तिगत रन हो। यसअघि निवर्तमान कप्तान रुबिना क्षेत्री बेलबासले माल्दिभ्सविरुद्ध ११८ र सीता रानामगरले कतारविरुद्ध ८२ रन प्रहार गरेका थिए।

एसिया कपमा भने सम्झना नै सर्वाधिक रनकर्ता बनिन्। यसअघि सन् २०१६ मा ज्योति पाण्डेले १६ रन प्रहार गरेकी थिइन्। ललितपुर मेयर कपमा सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट प्रदर्शन गरेपछि सम्झनाले राष्ट्रिय टोलीमा निरन्तरता पाएकी हुन्।

गत मेमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उक्त प्रतियोगितामा उनले दुई अर्धशतकसहित सर्वाधिक १५६ रन बनाइन्। उनको यो प्रदर्शनसँगै सुदूरपश्चिम उपविजेता बनेको थियो। यसअघिका १६ टी–२० आई खेलमा उनले कहिल्यै ओपनिङमा उत्रिएर ब्याटिङ गरेकी थिइनन्। तर, ललितपुर मेयर्स कपमा सुदूरपश्चिमका लागि देखाएको त्यो माथिल्लो स्तरको प्रदर्शनकै कारण उनलाई मुख्य प्रशिक्षक मनोज कटवालले ओपनिङको जिम्मेवारी सुम्पिएका थिए। उनले पनि निराश हुन दिइनन्।

‘सम्झनालाई ओपनिङमा खेलाउने निर्णय हाम्रो प्रशिक्षकको थियो । उनले ब्याटिङमा राम्रो गर्न सक्छिन् भन्ने हामीलाई विश्वास थियो,’ इन्दुले भनिन्। कोलम्बोमा जन्मिएर आफ्नो जन्मभूमिमा पहिलोपल्ट खेलेकी कविशा इगोडेजले आफ्नो गति र ‘स्विङ’ मा परिवर्तन गरिरहेकी थिइन्। उनले सीतालाई सात, रुबिनालाई १० र कवितालाई दुई रनमा पेभेलियन फर्काइदिइन्। तर, सम्झनाले भने निर्धक्क भएर ब्याटिङ गरिरहिन् र सम्झनयोग्य इनिङ खेलिन्।

उनले ३५ बलमै अर्धशतक पूरा गरेकी थिइन् । जुन महिला एसिया कपमा नेपालको पहिलो अर्धशतक पनि हो । उनको यो करियरकै उत्कृष्ट इनिङ रह्यो। गत अगस्टमा उनले हङकङविरुद्ध अविजित रहँदै सर्वाधिक ३६ रन प्रहार गरेकी थिइन्।

युएईलाई निरन्तर दबाब

नेपालले बलिङ रोजेपछि कप्तान इन्दुसहित कविता कुँवर, सबनम राईले युएईका ब्याटरलाई निरन्तर दबाबमा राख्न सफल भए । त्यही दबाबका कारण युएई ११५ रनभन्दा माथि जान सकेन। रन निकाल्ने चक्करमा युएईकी कप्तान इशा रोहित ओजा ११ रनमै काजोल श्रेष्ठ र रुबिनाबाट रनआउट भइन्।

त्यसपछि रिनिथा राजितलाई सबनमले ‘इनस्विङर’ बलमा बोल्ड गरिन्। रुबिनाले ‘पावर प्ले’को अन्तिम ओभरमा युएईका लागि १३ सयभन्दा बढी रन बनाएकी तीर्थ सतीशलाई पनि इन्दुबाट क्याच गराइन् । यहीबाट नेपाल खेलमा हाबी भइसकेको थियो।

इशा भन्छिन्, ‘पावरप्लेमा तीन विकेट गुमाउनु राम्रो सुरुआत थिएन ।’ युएईले त्यसपछि समाइरा धरनिधर्क र हिना होतचन्दनीलाई सस्तैमा गुमायो । तर, खुसी शर्माले कविशालाई राम्रो साथ दिँदा युएईले ४१ बलमा ३२ रन स्कोर बोर्डमा थपेको थियो । बायाँ हाते स्पिनर कृतिका मरासिनीले कविशालाई कभरमा २२ रनमा क्याच गराइन्। त्यसपछि खुसीले खुलेर खेल्ने प्रयास गरेपनि सफल हुन सकिनन् र इन्दुको बलमा ३६ रनमा कृतिकाबाट क्याच आउट भइन्।

यस इनिङमा इन्दुले तीन तथा सबनम र कृतिकाले एक÷एक विकेट लिए। अब नेपालले दोस्रो खेलमा आइतबार साबिक विजेता भारत र मंगलबार पाकिस्तानको सामना गर्नेछ। यीमध्ये कुनै खेल जिते नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहनेछ। यदि हारेको खण्डमा यसपल्ट नेपाल कम्तीमा दुई अंक लिएर घर फर्किनेछ।

प्रकाशित: ५ श्रावण २०८१ ०७:३६ शनिबार

#Nepalese team #"Player of the Match" #Samjhna