खेल

प्याराग्लाइडिङमा खेलाडी छानिए

पोखरा – इन्डोनेसियाको जर्कातामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने प्याराग्लाइडिङ प्रतियोगिताका लागि नेपाली खेलाडी छानिएका छन्। पहिलो पटक एसियाली खेलकुदमा नेपालका प्याराग्लाइडिङ खेलाडी सहभागी हुँदै छन्। त्यसमा पोखरेली प्याराग्लाइडिङ पाइलट प्रतिस्पर्धा गर्दै छन्।

आगामी अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म यो प्रतियोगिता हुँदै छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा पोखरामा प्रतिस्पर्धी खेलाडी छनोट गरिएको हो। नेपालले एसियाली खेलको प्याराग्लाइडिङमा तीनवटा इभेन्टमा १०  खेलाडी सहभागी गराउने संघका महासचिव शैलेन्द्र रावतले बताए। उनका अनुसार क्रसकन्ट्री र एक्युरेसीमा ५–५ जना तथा इन्डिभिजुअल एकुरेसीमा १० जना (क्रसकन्ट्री र एक्युरेसी) प्रतिस्पर्धी नै सहभागी हुनेछन्। ‘तीनवटा विधामा १० जना नेपाली खेलाडीले एसियाली खेलकुदमा प्याराग्लाइडिङतर्फ प्रतिस्पर्धा गर्नेछन्,’ उनले भने, ‘एसियाली खेलकुदमा पहिलो पटक प्याराग्लाइडिङ खेललाई सहभागी गराइएको हो । त्यसमा नेपालले पनि सहभागिताको अवसर पाएको छ।’

उनका अनुसार छानिएका अधिकांश खेलाडी पोखराका छन्। ‘नेपालमै प्याराग्लाइडिङका सबैभन्दा बढी गतिविधि हुने ठाउँ पोखरा हो। त्यही भएर यहाँका खेलाडी नै छन्,’ उनले भने। रावतका अनुसार स्याङ्जाको स्वरेकमा कात्तिकमा भएको पहिलो चरणमा ९९ जना प्रतियोगी छानिएका थिए ्। दोस्रो चरणमा ती सहभागीबाट २० जना छानिएका छन्। ‘अझै तेस्रो चरणको छनोट बाँकी छ। त्यो प्रतियोगितामा सहभागी हुनुभन्दा केही दिनअघि मात्र छानिनेछ,’ रावतले भने, ‘२० जनाबाट अन्तिममा १० जना छानिएर जानेछन्। आधिकारिक रूपमा तिनै १० जना खेलाडीले प्रतिश्पर्धा गर्नेछन्। सरकारी तहबाट भएको यो नै पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ।’

उनका अनुसार टिम क्रसकन्ट्री तर्फ विशाल थापा, सुशील भट्टराई, शेरबहादुर गुरुङ, विमल अधिकारी, विजय दाहाल, कृष्णबहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराई छनोट भएका छन्। त्यसै गरी टिम एकुरेसीतर्फ ऋषि पोडे, नारायण पराजुली, युवराज सुनुवार, मदनकुमार सुनुवार, सुवास थापा, अनिष भट्टराई, युकेश गुरुङ, विजय गौतम, सविन रानामगर र विशाल थापा छन्। तीमध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन। १६ वर्षका युकेशले हाल एसइई परिक्षा दिइरहेका छन्।

एसियाली खेलकुदमा जाने प्याराग्लाइडिङ खेलाडी छनौट भएकोमा खुसी हुनुपर्ने नेपाल हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष योगेश भट्टराईले बताए। ‘नेपाली प्याराग्लाइडिङ उडानको २० वर्षे इतिहासमा साहसिक खेलको रूपमा बल्ल चिनिएको छ,’ भट्टराईले भने, ‘यसले नेपाललाई साहसिक पर्यटकीय गतिविधिमा माथि उठाउनेछ।’ 

नेपालको पोखरा, धरान, स्याङजा, तनहुँ र सुर्खेतमा व्यावसायिक हिसाबले प्याराग्लाइडिङ उडान हुँदै आए पनि पोखरा विश्वकै ‘टपटेन’ गन्तव्य भित्र पर्ने उनले बताए।

प्याराग्लाइडिङ खेलका प्रशिक्षक समेत रहेका वरिष्ठ पाइलट सानोबाबु सुनुवारले एसियाली खेलमा नेपालको तयारी पदकका लागि हुने बताए। ‘नेपालको सहभागिता मात्रै होइन त्यहाँ पदकका लागि खेल्नेछौ,’ उनले भने, ‘यसले नेपालमा हुने साहसिक खेलका गतिविधिलाई अझै उकास्नेछ।’ एसियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङतर्फ ३० भन्दा बढी देशको सहभागिता रहेको सुनुवारले बताए। ‘नेपालीका लागि यो सहभागिता पहिलो हो। यो ऐतिहासिक मौका पनि हो,’ प्याराग्लाइडिङका वरिष्ठ प्रशिक्षक  सुनुवारले भने, ‘यो नेपालका लागि गतिलो मौका हो।’

प्रकाशित: १५ चैत्र २०७४ ०२:३९ बिहीबार

प्याराग्लाइडिङमा खेलाडी छानिए