खेल

युरो कप: उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै, कसले मार्ला बाजी?

युरो कप २०२४ को उपाधिका लागि स्पेन र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा हुने फाइनल खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ।

सेमिफाइनलमा फ्रान्सविरुद्ध जित निकाल्दै स्पेन फाइनलमा प्रवेश गरेको हो भने  इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध २–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

युरो कपमा लगातार दोस्रो पटक फाइनल पुगे पनि इङ्ल्यान्ड उपाधिबिहीन छ। त्यसकारण यसपटकको खेलमा उपाधि जित्नका लागि उसले आफ्नो सबै ध्यान केन्द्रीत गर्नेछ।

यसअघि इङ्ल्यान्ड सन् २०२० को युरो फाइनलमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

स्पेनले भने जारी प्रतियोगितामा शतप्रतिशत जित हासिल गरेको छ। सन् २०१२ पछि पहिलोपल्ट फाइनल पुगेको स्पेनले बराबरी र पेनाल्टीको अनुभव गर्न पाएको छैन।

स्पेनले यसअघि सन् १९६४ मा पहिलो पटक युरो कप जितेको। त्यसपछि सन् २००८ र २०१२ मा मा स्पेनले लगातार युरो कप जितेको थियो।  

प्रकाशित: ३० असार २०८१ १३:३५ आइतबार

#EuroCup 2024 #england #spain