खेल

रोड्रिग्वेज नेतृत्वमा कोलम्बिया पुनर्जीवित

लिओनल मेसी, डार्विन नुनेज र भिनिसियस जुनियरजस्ता विश्वका उत्कृष्ट खेलाडीले कोपा अमेरिकामा गोलभन्दा बढी फाउल गरेका छन्। अनावश्यक रूपमा पहेँलो कार्ड ‘बुक’ पनि गरेका छन्। तर, कोलम्बियाका ३२ वर्षीय विंगर जेम्स रोड्रिग्वेज भने विश्व हल्लाएका यी ‘स्टार खेलाडी’भन्दा धैरै भिन्न देखिएका छन्। उनी कोलम्बियालाई विश्व फुटबलमा कसरी पुनर्जीवित गर्नेभन्ने ध्याउन्नमा छन्।

ब्राजिल विश्वकप २०१४ मा रोड्रिग्वेजले ६ गोल र दुई असिस्ट गर्दै ‘गोल्डेन बुट’ जितेका थिए। त्यो उत्कृष्ट प्रदर्शनलाई देखेर स्पेनिस क्लब रियाल मड्रिडसमेत लोभियो। त्यतिखेर उनी २२ वर्षका युवा खेलाडी थिए, एकदमै ‘फ्रेस’ र प्रतिभावान्। तर, रियालमा उनले विश्वकपमा जस्तो उत्कृष्ट खेल कहीँकतै देखाउनै सकेनन्। सन् २०१७ मा स्पेनको राजधानी छोडेपछि उनले बायर्न म्युनिख, एभर्टन, कतारको अल रेयान, ग्रिसको ओलम्पियाकोस र ब्राजिलियन क्लब साओ पाउलोसम्मको यात्रा तय गरे।

छोटो समयमा धेरै क्लब चहारे पनि उनी पहिलाको जस्तो अब्बल दर्जाको खेलाडी कहलिनै सकेनन्। तर, पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा पुगेको १० वर्षपछि अमेरिकी भूमिमा उनले पुनः पुरानै लय समातेका छन्। यही भूमिमा उनले आफूभित्र रहेको अथाह क्षमता प्रस्फुटन गरेका छन्। पाँच खेलमा एक गोल र चार पटक ‘म्यान अफ द म्याच’ भएका उनले आफ्नो कप्तानीमा कोलम्बियालाई २३ वर्षपछि पुनः कोपा अमेरिकाको उपाधिनजिक पुर्‍याएका छन्।

ब्राजिल विश्वकपमा कोलम्बियाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। जर्मनीसँग ७–१ को फराकिलो हार बेहोर्नुअघि ब्राजिलले कोलम्बियालाई २–१ ले पाखा लगायो। त्यसको दुई वर्षपछि अमेरिकामा भएको कोपा अमेरिकामा कोलम्बिया घरेलु टोलीलाई  १–० ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो।

रसिया विश्वकप २०१८ मा पनि कोलम्बियाले अन्तिम १६ सम्मको यात्रा तय गर्‍यो भने कोपा अमेरिका २०२१ मा पनि तेस्रो स्थान हात पार्न सफल भयो। तर, एकपछि अर्को गर्दै लगातार उत्कृष्ट प्रदर्शन गरेको कोलम्बिया कतार विश्वकप २०२२ मा भने छनोट नै हुन सकेन। त्यसपछि कोलम्बियाली टोलीको मुख्य प्रशिक्षकमा नेस्टोर लोरेन्जो नियुक्त भए। अनुभवहीन भन्दै चर्को आलोचना खेपेका ५८ वर्षीय अर्जेन्टिनी प्रशिक्षकले कोलम्बियालाई मात्रै होइन, रोड्रिग्वेजको करिअरलाई पनि पुनर्जीवित गर्न निक्कै मिहिनेत गरे।

सन् २०२२ को सुरुदेखि कोलम्बियाले २८ खेल लामो अपराजित यात्रा तय गरेको छ। यसबीचमा लोरेन्जोले अहिलेसम्म हार्दा कस्तो हुन्छ भनेर महसुस गर्न पाएका छैनन्। मन दुखाउनु त परकै कुरा हो।

कुनै टोलीमा यत्रो ठूलो परिवर्तन एक व्यक्तिले मात्रै गर्न पक्कै सम्भव छैन। यता, टोलीमा ब्राजिल विश्वकपमा जस्तो रोड्रिग्वेजसँग राडामेल फाल्काओ, डेभिड ओस्पिना र जुआन कुआड्राडोजस्ता कुनै ‘सुपर स्टार’ खेलाडी पनि छैनन्। तर, कोलम्बिया हरेक क्षेत्रमा उत्कृष्ट देखिएको छ। ब्राजिल र उरुग्वेजस्ता ठूला र ‘स्टार’ खेलाडीले भरिएको टोलीविरुद्ध पनि कुनै भुलचुक गरेको छैन। यसमा रोड्रिग्वेजको प्रदर्शन र कप्तानी भूमिकालाई तारिफ गर्नै पर्छ।

‘सन् २०१४ मा जेम्स मुख्य स्ट्राइकर, सर्वाधिक गोलकर्ता, धेरै पटक म्यान अफ द म्याच जित्ने खेलाडी थिए,’ उरुग्वेविरुद्धको जितपछि लोरेन्जोले भने, ‘यसपटक पनि उनी त्यस्तै लयमा छन्। यहाँसम्मको यात्रा तय गर्दा उनले धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। उनलाई पूरै टोलीको साथ छ।’

यस पटक उनले प्रतियोगिताको निकै आनन्द उठाइरहेका छन्। उनको उत्कृष्ट थ्रु–बल, बल स्विच, सानदार ड्रिबल मोहित पार्ने खालकै छन्। चित्त नबुझेको कुरामा रेफ्रीसँग असन्तुष्टि पोख्न जाँदा पनि उनको अनुहारमा कुनै आक्रोशित भाव देखिँदैन। उनी हरसमय मुस्कुराइ नै रहन्छन्।

लोरेन्जो भन्छन्, ‘उनी मात्रै होइन, यो टोलीका हरेक खेलाडी प्रतियोगिताको नायक बन्न चाहन्छन्। यी खेलाडी भोकाएका छन्, उपाधि जित्न चाहन्छन्।’ कोलम्बिया यहाँसम्म पुग्नुलाई तुक्का मात्र मान्न सकिँदैन, किनभने उनको टोलीका कप्तानको प्रदर्शन उच्च छ। प्रतियोगितामा रोड्रिग्वेजले ६ ‘असिस्ट’ गरेका छन्। उनले सेमिफाइनलसम्म १९ अंक बटुल्दै प्रतियोगितामा आफ्नो टोलीको नेतृत्व पनि गरेका छन्।

‘मैदानमा उनी अब अलि कम दौडन्छन् र अलि बढी सोच्छन्,’ लोरेन्जोले गत हप्ता रोड्रिग्वेजको प्रदर्शनबारे भनेका थिए, ‘यो उनका लागि राम्रो हो। उनी खेलका अधिकांश समय विपक्षी खेलाडीबाट घेरिएका छन्। तर, उनले राम्रो खेलिरहेका छन्।’

उरुग्वेविरुद्धको दोस्रो सेमिफाइनलको पहिलो हाफमा उनले आफूले दिन पर्ने सबै कुरा दिए। ‘पिनपोइन्ट कर्नर’बाट उत्कृष्ट पास उनले नै मिलाइदिए। सोही बललाई जेफर्सन लेरमाले हेडर गर्दै उत्कृष्ट फिनिसिङ गरे।

हुन त यो खेलमा उरुग्वेका मुख्य प्रशिक्षक मार्सेलो बिइल्साले आफ्नो खेलाडीलाई कोलम्बियाली ‘प्लेमेकर’लाई रोक्न ‘टचलाइन’बाट पटकपटक आग्रह गरिरहेका थिए। अघिकांश समय उरुग्वेका खेलाडीले उनलाई बिल्साले निर्देशन पालना गर्दै ‘मार्क’ नगरेका पनि होइन। तर, उनले प्रहार गरेको ‘सटीक’ कर्नर बललाई भने उरुग्वेका डिफेन्डरले रोक्न सकेनन्। यही गोल खेलमा निर्णायक बन्दियो। पहिलो हाफको इन्जुरी समयमा कोलम्बिया  १० खेलाडीमा सीमित भएको थियो। ड्यानियल मुनोजले उरुग्वेका म्यानुअल उगार्टेलाई अनावश्यक रूपमा कुहिनाले प्रहार गरेपछि मेक्सिकन रेफ्री सेजर रामोसले दोहोरो पहेंलो कार्ड दिए।

दोस्रो हाफको पूरा समय कोलम्बियाले  १० खेलाडीमा खेल्ने भएपछि उरुग्वेले त्यसको फाइदा उठाउँदै खेलमा पुनरागमन गर्ने आकलन गरिएको थियो। तर, मैदानमा एक खेलाडी कम हुँदा पनि कोलम्बियाली डिफेन्डरले नतिजा परिवर्तन गर्नै दिएनन्।

६२औं मिनेटमा रोड्रिग्वेज र रिचर्ड रियोस चोटका कारण मैदानबाट बाहिरिएपछि कोलम्बियाले अन्तिम २८ मिनेट ‘डिफेन्सिभ’ खेल खेलेको थियो। उनीहरूको अनुपस्थितिमा केभिन कास्टानो र अनुभवी माटेयस उरिबेले मिडफिल्ड सम्हाले। उरिबेले पाएका दुई उत्कृष्ट मौकालाई गोलमा परिणत गर्न सकेनन्, तर कोलम्बिया खेलमा विजयी भयो।

रेफ्री रामोसले खेल सकिएको संकेत गर्दै सिटी बजाउँदा कोलम्बियाको बेन्चमा रहेका सबै खेलाडी निक्कै भावुक भए। लुइस डियाज र अन्य खेलाडीलाई अँगालो हाल्दै रोड्रिग्वेज रुन थाले। उरुग्वेका डर्बिन नुनेज कोलम्बियाली समर्थकसँग झगडा गर्न थाले भने बाँकी खेलाडी बैंक अफ अमेरिका स्टेडियमको स्ट्यान्डमा प्रवेश गरे।

अबको चार दिन रोड्रिग्वेज र कोलम्बियाली टोलीले यो जितको उत्सब मनाउनेछन्। किनभने यो यात्रा कोलम्बियाली टोलीका लागि अर्जेन्टिनाको जस्तो सहज रहेन। त्यसैले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई असहज स्थिति कस्तो हुन्छ भनेर अनुभव दिलाउन र २३ वर्षपछि उपाधि खडेरी अन्त्य गर्न भए पनि कोलम्बियालाई बलियो रणनीति बनाउन आवश्यक छ।

प्रकाशित: २८ असार २०८१ १२:२४ शुक्रबार

#Colombia revived under Rodriguez leadership