खेल

युथ लिगको तयारी पूरा

ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार असार ३० गतेदेखि आफ्नै मैदानमा आयोजना हुने लिगको तयारी पूरा भएको जनाकारी दिएको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने यस प्रतियोगितामा एपिएफ फुटबल क्लब, चर्च बोइज फुटबल क्लब, एफसी खुमलटार, मच्छिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब र त्रिभुवन आर्मी फुटबलले सहभागिता जनाउनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा एनआरटी र चर्च बोइज भिड्नेछन्।

लिगका खेलहरू डबल राउन्ड रोबिनका आधारमा हुनेछन्। एन्फाका अनुसार लिगको तयारीस्वरूप प्रत्येक क्लबलाई तीन लाख ५० हजार रूपैयाँ उपलब्ध गराउनेछ। ‘प्रतियोगिताका खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोस्थित खेल मैदानमा खेलाइनेछ। तर, आवश्यक परेमा अन्य खेलमैदान पनि प्रयोग गर्न सकिनेछ,’ प्रवक्ता सुरेश शाहले भने।

उनका अनुसार लिग विजेताले एक लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेतालाई ५० हजार र प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समान १५ हजार रूपैयाँ प्रदान गरिनेछ।

लिग सम्पन्न गर्न एन्फाले उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा सञ्चालक समिति गठन गरिसकिएको छ। प्रतियोगिताको अनुमानित बजेट ८१ लाख ९१ हजार ८० रहेको शाहले जानकारी दिए। यो प्रतियोगिता फिफाको ट्यालेन्ट डेभल्पमेन्ट स्किम परियोजनाअन्तर्गत सम्पन्न गर्न लागिएको शाहले जानकारी दिए। 

प्रकाशित: २७ असार २०८१ ०८:५५ बिहीबार

ललित स्मृति एन्फा यु–१८ युथ लिग # अखिल नेपाल फुटबल संघ