राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचयपत्र वितरण गरेको छ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमबीच तीन प्रकारका परिचयपत्र प्रदान गरे। बृहत् राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचयपत्र प्रदान गरिएको हो।
प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निशुःल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परीक्षणका लागि निःशुल्क सेवा पाउनेछन्। गोल्ड परिचयपत्र पाउनेले प्लाटिनम परिचय पत्रधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउनेछन्।
सिल्भर परिचय पत्रवाहकलाई राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा ५० प्रतिशत छुट दिनेछ।
कार्यक्रममा सदस्यसचिव घिसिङले परिचयपत्र वाहक खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी स्वास्थ्य, शिक्षा र यातायातमा सहुलियतका लागि राखेपले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: २७ असार २०८१ ०८:२५ बिहीबार