खेल

डुरान्ड कपमा आर्मीसँग गोवा र हैदराबाद

एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह ‘ए’ मा परेको छ। डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआइआइएफ)को आयोजनामा हुने प्रतियोगिताको बुधबार सार्वजनिक गरिएको ‘ड्र’ मा आर्मी समूह ‘एफ’ मा परेको हो।

यो समूहमा आर्मीसँगै इन्डियन सुपर लिग (आइएसएल) टोली एफसी गोवा, हैदराबाद एफसी र आई लिग क्लब सिलोङ लाजोङ एफसी रहेका छन्। सिलोङबाट गत सिजन नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर एरिक विष्टले खेलेका थिए। आर्मीले गत सिजन पनि यस प्रतियोगितामा सहभागिता जनाएको थियो। उक्त प्रतियोगितामा आर्मी चेन्नइयिन एफसीसँग ३–० र हैदराबादसँग ३–० ले पराजित भएको थियो। यस्तै, दिल्ली एफसीसँग भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।

डुरान्ड कपको १३३औँ संस्करण जुलाई २७ देखि सिलोङमा हुनेछ। यस वर्ष जमसेदपुर र सिलाङलाई ‘होस्ट’ सहरको रूपमा थपिएको छ। आसामको कोकराझारले लगातार दोस्रो वर्ष आयोजकको भूमिका निर्वाह गर्नेछ भने कोलकाताले पनि विगत पाँच वर्षदेखि प्रतियोगिताका खेलहरू आयोजना गर्दै आएको छ।

१३३औं संस्करणमा इन्डियन सुपर लिग, आई लिगका र अन्य आमन्त्रण अन्तर्राष्ट्रिय र सशस्त्र बलसहित २४ टोलीले सहभागिता जनाउनेछन्। प्रतियोगिताको तयारीबारे बोल्दै लेफ्टिनेन्ट जनरल रामचन्द्र तिवारीले डुरान्ड कप भारतीय सेनाको पूर्वी कमान्डका लागि गर्व गर्ने प्रतियोगिता रहेको बताए।

‘डुरान्ड कप पूर्वी कमान्डरका लागि गर्वको विषय हो। यो कार्यक्रम भारतीय फुटबलको परिदृश्यमा एक आधारशिला र खेल उत्कृष्टताको पर्याय बनेको छ। फुटबल एउटा खेलभन्दा पनि एकीकृत गर्ने माध्यम हो। जसले विभिन्न पृष्ठभूमि, संस्कृति र जीवनका क्षेत्रमा रहेका मानिसहरूलाई एक बनाउँछ। यसले टिमवर्क, लगनशीलता र निष्पक्ष खेलको भावनालाई मूर्त रूप दिन्छ,’ उनले भने। कुल ४३ खेल हुने प्रतियोगिता राउन्ड रोबिन लिग कम नकआउट ढाँचामा खेलाइनेछ। फाइनल खेल कोलकाताको विवेकानन्द युवा भारती क्रिरंगन रंगशालामा हुनेछ। प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। समूहविजेता र उपविजेता गरी कुल आठ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।

कोलकातामा तीन, कोकराझार, सिलाङ र जमसेदपुरमा एक–एक समूहका खेल हुनेछन्। मोहन बगान सुपर जायन्ट डिफेन्डिङ च्याम्पियन हो। जसले गत वर्ष कीर्तिमानी १७औं पटक प्रतियोगिताको उपाधि जितेको थियो।

प्रकाशित: २७ असार २०८१ ०७:१६ बिहीबार

#durand cup #tribhuwan army