खेल

नेपालको पहिलो प्रतिस्पर्धी श्रीलंका

काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलबार माल्दिभ्सको राजधानी मालेमा हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो। 

उक्त तालिकाअनुसार नेपाल र श्रीलंकाबीचको खेल जुलाई १८ मा हुने पक्का भएको हो । नेपालले पहिलो पटक उमेरसमूहमा सहभागिता जनाउन लागेको हो। 

नेपालले जुलाई १९ मा किर्गिस्तान र त्यसको भोलिपल्ट आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।प्रतियोगितामा सहभागिता जनाउन नेपालले अन्तिम १२ सदस्यीय टोली घोषणा गरिसकेको छ। टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा प्रशिक्षण गरिरहेको छ। 

करिब दुई हप्ताअघि राखेप कभर्ड हलमै सम्पन्न सहाना प्रधान स्मृति यु–१९ भलिबल प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा १२ खेलाडी छनोट गरिएको हो। टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका चार तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान एक खेलाडी छनोट भएका छन्। 

बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन्। लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मीना सुनार र आरती चौधरी छनोट भए। सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री छानिए।

मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर छन्। सिंगल राउन्ड रोविनका आधारमा प्रतियोगिता खेलाइनेछ। लिगचरणका चार उत्कृष्ट टोली सेमिफाइनल प्रवेश गर्नेछन्। लिगचरणको विजेता र चौथो स्थानमा रहने टोली सेमिफाइनलमा भिड्नेछन्। अर्को सेमिफाइनलमा लिगको उपविजेता र तेस्रो हुने टोली भिड्नेछन्। सेमिफाइनलमा जित्ने दुई टोली उपाधिका लागि भिड्नेछन्।

प्रकाशित: २६ असार २०८१ ११:०८ बुधबार

#Kava U-20 Women's Volleyball #Nepal to Sri Lanka