खेल

युरोकप: इङ्ल्यान्डका लागि कप्तान केन निर्णायक

युरो कपमा इङ्ल्यान्डले लगातार उत्कृष्ट प्रदर्शन गरेपछि कप्तान ह्यारी केनको चौतर्फी प्रशंसा हुनुपर्ने हो। किनभने उनकै कप्तानीमा इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको सेमिफाइनलमा पुग्न सफल भएको छ। यति मात्रै होइन, उनले जारी प्रतियोगितामा महत्त्वपूर्ण दुई गोल पनि गरिसकेका छन्।

तर, उनी फर्ममा देखिएका छैनन्। खेलमा उनको गति कम छ र प्राप्त अवसरलाई पनि उनले सदुपयोग गर्न सकेका छैनन्। त्यसैले होला उनलाई नेदरल्यान्ड्सविरुद्ध बुधबार राति हुने खेलमा आराम दिनुपर्ने भन्दै समर्थकले आवाज उठाउन थालेका छन्। तर, टोलीका डिफेन्डर ल्युक श र मिडफिल्डर ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड भने उनलाई बेन्च राख्नुपर्ने कारण देख्दैनन्। उनीहरू भन्छन्, ‘केनको उपस्थितिले विपक्षी टोलीका खेलाडीको मुटुमा खतराको घन्टी बजाउँछ।’ यदि उनलाई आराम दिए इङ्ल्यान्डले डच टोलीविरुद्ध गोलका लागि कुनै अवसर सिर्जना गर्न नसक्ने एलेक्जेन्डर तर्क गर्छन्। ‘इङ्ल्यान्डको सामना गर्ने जो कोही पनि ह्यारी केन नखेलेको हेर्न चाहन्छन्। किनभने उनी एक खतरनाक खेलाडी हुन्। उनी खेल्दा पेनाल्टी बक्सभित्र र वरिपरि अत्यधिक अलर्टमा हुन आवश्यक हुन्छ। बल प्राप्त भए उनले हरेक कोणबाट फिनिसिङ गर्न सक्छन्,’ उनी भन्छन्।

आफूले देखेका सबैभन्दा राम्रा फिनिसर नै केन रहेको उनी बताउँछन्। हुन त केन बहुगुणी छन्। उनी ‘फाइनल थर्ड’ मा मात्रै होइन, पेनाल्टी एरियामा झरेर पनि खेल्न सक्छन्। ‘प्ले–अप’ निर्माण गर्न सक्छन् र उनको ‘होल्ड–अप प्ले’ पनि अविश्वसनीय छ। तर, कुरा भने इङ्ल्यान्डको कमजोर आक्रामक लाइनमै अड्किएको छ। जुड बेलिङ्घम र फिल फोडेनले आफ्नो क्लबजस्तो चमक देखाउन सकेका छैनन्। ‘फाइनल थर्ड’ मा उनीहरूको प्रभाव कम देखिएको छ।

स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेललाई अतिरिक्त समयमा लैजान बुकायो साकाले निर्णायक गोल गरेका थिए। उनकै त्यो बराबरी गोलले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पुर्‍यायो र जित दिलायो। पेनाल्टी सुटआउटमा पनि उनले नै महत्त्वपूर्ण गोल गरे।

यद्यपि, उनलाई डिफेन्डरले मैदानमा अत्यधिक ‘मार्क’ गरिरहेका छन्। चौतर्फी घेरिएपछि उनले आफ्नो क्षमताअनुसार खेल पस्किन पाएका छैनन् । त्यसैले पनि नेदरल्यान्ड्सविरुद्धको खेलमा केन र बेलिङ्घम पनि चल्न आवश्यक छ। मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट भन्छन्, ‘केनलाई बाहिर राख्नुपर्छ भन्ने कुरा मेरो दिमागमा छैन। उनी हाम्रो कप्तान र कीर्तिमानी गोलकर्ता हुन्। गोल गर्न नसके पनि उनले अन्य कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । जबसम्म घाइते हुँदैनन्, तबसम्म उनी खेल्छन्।’

क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिनुअघि इङ्ल्यान्डले अन्तिम १६ मा विश्ववरीयताको ४५औं स्थानमा रहेको स्लोभाकियामाथि नाटकीय जित निकालेको थियो। उक्त खेलमा केनले नै निर्णायक गोल गरेका थिए। मार्क गुएही एक खेलको निलम्बनबाट टोलीमा फर्किएका छन्। त्यसैले साउथगेटले डच टोलीविरुद्धको खेलमा ३–४–२–१ को ‘फर्मेसन’लाई कायम राख्ने अपेक्षा गरिएको छ।

यसको विपरीत डचहरू प्रतियोगितामा खतरनाक देखिएका छन्। समूह ‘डी’ मा फ्रान्स र अस्ट्रियासँग पछि पर्दै तेस्रो स्थानमा रहेर नेदरल्यान्ड्सले सेमिफाइनलसम्मको यात्रा तय गरेकोमा आफूलाई अझ भाग्यमानी मान्न सक्छ। यति लामो यात्रा तय गर्दा नेदरल्यान्ड्सले विशेष गरी प्रतियोगितामा तीन गोल गरिसकेका कोडी गाक्पोलाई धन्यवाद दिनैपर्छ। तर, उनले इङ्ल्यान्डको बलियो डिफेन्स लाइन चिर्न संघर्ष गर्नुपर्नेछ। यो टोलीले प्रतिगिताका पाँच खेलमा मात्रै तीन गोल खाएको छ। नेदरल्यान्ड्सको डिफेन्स लाइन प्रतियोगितामा निकै कमजोर देखिएको छ। त्यसको फाइदा इङ्ल्यान्डले उठाउन सक्छ।

रोनाल्ड कोम्यानको टोलीले अन्तिम १६ मा रोमानियालाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उत्कृष्ट पुनरागमन गरेको थियो। बर्लिनमा भएको क्वार्टरफाइनलमा टर्कीलाई पनि डच टोलीले २–१ गोलअन्तरले पाखा लगायो। प्रिमियर लिग स्टारहरूले एक हुल बनाएर आउँदा डचका लागि थोरै डर उत्पन्न हुनेछ, जुन लिगमा टोलीका कप्तान भर्जिल भान डाइक र कोडी गाक्पोसँगै सेन्टर ब्याक मिकी भान डे भेन खेल्दै आएका छन्। 

भान डाइक र गाक्पो लिभरपुलमा आबद्ध छन् भने भेन टोटेनह्याममा। यहाँसम्म आइपुगको डच टोली ३६ वर्षपछि जर्मनीमै इतिहास दोहो¥याउने दाउमा हुनेछ। पछिल्लो पटक जर्मनीमै आयोजना भएको युरो कपमा यो टोलीले फाइनलमा सोभियत युनियनलाई २–० ले पराजित गर्दै उपाधि नै जितेको थियो। यस पटक इङ्ल्यान्डविरुद्ध डच टोलीले डिफेन्समा सुधार नगरेसम्म आइतबार बर्लिनमा हुने फाइनलमा स्थान बनाउन सक्ने छैन।

प्रकाशित: २६ असार २०८१ ०९:४७ बुधबार

#Euro Cup 2024 #england #harry kane