खेल

अजलको अर्को राष्ट्रिय कीर्तिमान

अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

उनले पुरुष एक सय मिटर बटरफ्लाई ५९.१७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन्। अनुभवको नाममा ५९.७७ सेकेन्डको कीर्तिमान थियो। यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाई २५.५२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान स्थापित गरेका थिए। अजलले २६औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैँले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका थिए।

प्रतियोगितामा जम्मा तीन राष्ट्रिय कीर्तिमान बने। थप एक कीर्तिमान दिवाकर अवाले बनाएका थिए। दिवाकरले पुरुष दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी दुई मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३औं दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको दुई मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान भंग गरेका थिए। कीर्तिमानधारीले प्रत्येक कीर्तिमानबापत पाँच हजारका दरले नगद पुरस्कार पाए।

प्रतियोगितामा एक सय ६६ अंकसाथ निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो।

५३ अंकसाथ सेन्ट मेरिज दोस्रो तथा ३६ अंकसाथ जेम्स स्कुल तेस्रो बने।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ, आयोजक नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। 

प्रकाशित: २५ असार २०८१ ०९:०० मंगलबार

#swimming #Ajalkaji Tamrakar