पूर्वकप्तान सनथ जयसूर्या श्रीलंका पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। भारतविरुद्धको घरेलु शृंखला र सेप्टेम्बरमा इङ्ल्यान्डविरुद्ध हुने टेस्ट भ्रमणसम्मका लागि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो।
ट्वान्टी–२० विश्वकपमा श्रीलंका समूहचरणबाटै बाहिरिएपछि इङ्ल्यान्डका ४९ वर्षीय प्रशिक्षक क्रिस सिल्भरवुडले व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए। सिल्भरवुडले अप्रिल २०२२ मा श्रीलंकाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। त्यस वर्षको अन्त्यमा श्रीलंकाले पाकिस्तानलाई फाइनलमा २३ रनले पराजित गर्दै एसिया कप जितेको थियो।
सन् २०२३ मा भएको ५० ओभरको एसिया कपमा पनि श्रीलंका फाइनलमा पुगेको थियो। तर सन् २०२२ मा भएको ट्वान्टी–२० विश्वकप र गत वर्षको ५० ओभरको विश्वकपको नकआउट चरणमा स्थान बनाउन श्रीलंका असफल भएको थियो। सन् २०२४ को ट्वान्टी–२० विश्वकपको समूहचरणमा नेदरल्यान्ड्सलाई ८३ रनले पराजित गर्नुबाहेक श्रीलंकाले अन्य खेल जित्न सकेन। दक्षिण अफ्रिका र बंगलादेशसँग पछि परेको श्रीलंका तीन अंकका साथ साथ तेस्रो स्थानमा रहेर समूहचरणबाटै बाहिरिएको थियो।
जुलाई २७ मा भारतविरुद्ध सुरु हुने शृंखला र अगस्टमा हुने श्रीलंकाको इङ्ल्यान्ड भ्रमणअघि आफूलाई श्रीलंका क्रिकेट बोर्डले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आग्रह गरेको जयसूर्याले बताएका छन्। जयसूर्यासँग प्रशिक्षण गराएको अनुभव छैन। तर, उनी श्रीलंकाली टोलीको मुख्य छनोटकर्ता भने भइसकेका छन्। जयसूर्यामाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा छानबिन गर्न सहयोग नगरेको आरोप लगाइएको थियो। यो अनुसन्धान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले गरेको थियो। त्यसपछि उनलाई दुई वर्षको प्रतिबन्ध पनि लगाइएको थियो। उक्त घटनाको समाधान भएपछि बोर्डले उनलाई सल्लाहकारको पद नियुक्त गरेको थियो। अहिले पनि उनी त्यही भूमिकामा छन्।
मुख्य छनोकर्ताको रूपमा पनि उनको कार्यकाल विवादले भरिएको थियो। उनीमाथि तत्कालीन सरकारसँग सम्बन्धित खेलाडीलाई प्राथमिकता दिएको आरोप लागेको थियो। त्यस सरकारमा जयसूर्या पनि मन्त्री थिए। भारतले श्रीलंकामा तीन ट्वान्टी–२० र तीन एकदिवसीय शृंखला खेल्नेछ। ‘मलाई प्रशिक्षकको जिम्मेवारी सम्हाल्न भनिएको थियो। यो जिम्मेवारी सम्हाल्न पाउँदा म खुसी छु,’ ५५ वर्षीय जयसूर्याले एएफपीसँग भने। टेस्ट र एकदिवसीय पूर्वकप्तान जयसूर्याले जारी लंका प्रिमियर लिग (एलपिएल) को अन्त्यपछि टोलीको नेतृत्व सम्हाल्नेछन्।
प्रकाशित: २५ असार २०८१ ०८:३३ मंगलबार