खेल

ओरालो यात्रामा ब्राजिली फुटबल

कोपा अमेरिकाअन्तर्गत शनिबार बिहान सम्पन्न ब्राजिल र उरुग्वेबीचको क्वार्टरफाइनल खेल सीधै पेनाल्टी सुटआउटमार्फत विजेता चुनिएको भए सायद अनुपयुक्त हुने थिए। किनभने लास भेगासमा भएको यो बहुप्रतीक्षित भिडन्तमा फुटबलभन्दा फाउल र गलत पास अत्यधिक देखिन्थ्यो। त्यसैले निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा पुग्यो। उक्त पेनाल्टी सुटआउटमा ४–२ को पराजय बेहोर्दै ब्राजिल प्रतियोगिताबाट बाहिरियो। 

यो इतिहासकै खराब प्रदर्शन हो, जसका लागि हालका खेलाडीलाई जिम्मेवार ठहराउनु पक्कै पनि उपयुक्त हुँदैन। सन् २०१४ को फिफा विश्वकपमा आयोजक ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो। उक्त खेलमा लज्जास्पद हार बेहोर्दा ब्राजिलका युवा स्ट्राइकर एन्ड्रिक भर्खरै आठ वर्ष पुगेका थिए। अन्यलाई छाड्ने हो भने उनलाई ब्राजिलले उपाधि उचालेको एकै प्रतियोगिता सम्झना होला- सन् २०१९ को कोपा अमेरिका। पछिल्ला ६ कोपा अमेरिकामा ब्राजिलले हात पारेको यो नै सबैभन्दा ठूला सफलता हो।

अर्कोतर्फ पछिल्ला पाँच विश्वकपमा पनि ब्राजिलले फाइनलसम्मको यात्रा तय गर्न सकेको छैन। ब्राजिलको प्रदर्शन पहिलाभन्दा झन्झन् ओरालो लाग्दै छ र फुटबलप्रतिको मोह नै घटाइरहेको छ भन्दा सायदै गलत नहोला। गत मंगलबार कोलम्बियाविरुद्धको समूहचरणको अन्तिम खेलमा पहेँलो कार्ड पाएका भिनिसियस जुनियरलाई जोखिम मोल्नुपर्ने कुनै आवश्यक थिएन। क्वार्टरफाइनलमा आफ्नो स्थान गणितीय रूपमा सुनिश्चित भएपछि ब्राजिलले कोलम्बियाविरुद्ध एक अंक खोस्न रक्षात्मक फुटबल खेल्दिएको भए पनि पुग्थ्यो।

यद्यपि, ब्राजिलले आक्रामक फुटबल देखाउने प्रयास गर्‍यो। सोही खेलमा भिनिसियसले अर्को पहेँलो कार्ड प्राप्त गरे। प्रतियोगितामा लगातार दोस्रो पहेँलो कार्ड खाएसँगै उनले उरुग्वेविरुद्धको महत्त्वपूर्ण खेल गुमाए। भिनिसियसलाई कोलम्बियाविरुद्ध उतार्नु पक्कै पनि प्रशिक्षक डोरिभल जुनियरको गल्ती थियो। दबाब नरहेको खेलमा उनले शान्त खेल देखाउने अपेक्षा गर्न सकिन्थ्यो। तर, टचलाइनमा लामो समय बिताउने उनी यस प्रतियोगितामा खेलाडीभन्दा बढी आक्रामक देखिए। रेफ्रीको निर्णयमा आपत्ति जनाउने र रुवाबासी गर्नमै उनले अधिकांश समय व्यतीत गरे। उनी राम्रो टोली छनोट गर्ने, रणनीति बनाउने र जित्न खेलाडीलाई उत्प्रेरित गर्ने काममा नराम्ररी चुक्न पुगे।

खेलको ८७औं मिनेटमा एन्ड्रियास परेराले उरुग्वेका डिफेन्डर रोनाल्ड अराउजोलाई तानेर अनावश्यक रूपमा फाउल गरे। उनले आफूले फाउल गरेको स्विकारेका पनि थिए । तर, समय बिताउन उनी भुइँमा लडेर नाटक गर्न थाले। उरुग्वे पहिला नै १० खेलाडीमा सीमित भइसकेको थियो। भुइँमा पल्टिएर समय बिताउनुको साटो सकेसम्म बल चलाउन दिएर एक खेलाडी कम रहेको उरुग्वेमाथि ब्राजिलले दबाब पनि बढाउन सक्थ्यो। तर, ब्राजिल त्यसको फाइदा उठाउनभन्दा पनि सकेसम्म पेनाल्टी सुटआउटमै गएर खेल जित्ने मानसिकता बनाएको देखियो।

राफिन्हाले पहिलो हाफमा दायाँबायाँ भागबाट उरुग्वेको पोस्टमा केही आक्रमण बुनेका थिए । तर, उनी सफल हुन सकेनन्। दोस्रो हाफमा ब्राजिलले त्यस्तो लोभलाग्दो प्रदर्शन गर्न सकेन। ब्राजिलको काउन्टर अट्याक विश्व फुटबलमा सबैभन्दा खतरनाक मानिन्छ। पछिल्लो समय ब्राजिल यसैमा बढी निर्भर भएको देखिन्छ। उरुग्वेविरुद्धको खेलमा डोरिभलको रणनीति पनि त्यही थियो। उरुग्वेका खेलाडीलाई आफ्नो पोस्टनजिक ल्याउने र काउन्टर अट्याक गर्ने रणनीतिमा बनाए पनि उनी सफल हुन सकेनन्।

बल अधिकांश समय मिडफिल्डमै रुमलियो। ब्रुनो गुइमारेसले ब्राजिलको मिडफिल्डमा प्रभावकारी भूमिका निभाउन सकेनन्। कोलम्बियाविरुद्धको खेलमा पनि ब्राजिललाई दोस्रो हाफमा बल मध्यक्रमबाट अगाडि बढाउन निकै गाह्रो भएको थियो। राइट ब्याक नाहितान नान्डेजले खेल सकिन करिब २० मिनेट बाँकी रहँदा रातो कार्ड पाएपछि उरुग्वेले रक्षात्मक खेल खेल्यो। त्यो रक्षात्मक रेखालाई कसरी तोड्ने भन्नेबारे ब्राजिलले कुनै रणनीति बनाएको कतै देखिएन।

यस कोपा अमेरिकालाई हेरेर मूल्यांकन गर्ने हो भने यसअघि ब्राजिल अपराजित रहे पनि पूर्ण रूपमा असफल रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। कतार विश्वकपपछिको १८ महिना ब्राजिल धेरै कमजोर देखिएको छ। गत वर्षको अन्त्यमा भएको विश्वकप छनोटमा कोलम्बिया र उरुग्वेसँग ब्राजिल पराजित भएको थियो। यस पटक यी दुवै टोलीविरुद्ध ब्राजिलले सुधारिएको प्रदर्शन देखाउन सकेन। सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा ४८ टोलीले सहभागिता जनाउँदै छन्। तर, ब्राजिल यो छनोटमा स्थान बनाउन पनि संघर्ष गरिरहेको छ। ६ खेल सकिँदा दुई जित र एक बराबरीसहित सात अंक जोड्दै ब्राजिल छैटौं स्थानमा छ।

कोपा अमेरिकाबाट बाहिरिएसँगै ब्राजिललाई अझै दबाब थपिएको छ। यदि दुई वर्षको अवधिमा अन्य राष्ट्रलाई चुनौती दिन सक्ने हौसियतमा पुग्नु छ भने ब्राजिलले टोलीमा धेरै सुधार गर्न आवश्यक रहेको देखिन्छ। यो कुरा मुख्य प्रशिक्षक डोरिभल पनि नकार्न सक्दैनन् । ‘हामी प्रतियोगितामा अपराजित रह्यौं, तर यसमा सन्तुष्ट छैनौं। विश्वकपअघि हामीसँग सुधारका काम गर्न दुई वर्ष बाँकी छ । पहिलो लक्ष्य विश्वकपका लागि छनोट हुनु हो। किनभने हामी (दक्षिण अमेरिकी छनोटमा) मा छैटौं स्थानमा छौं,’ उनले भने।

प्रकाशित: २४ असार २०८१ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App