खेल

महिला फ्रेन्चाइज भलिबल लिग हुने

महिला फ्रेन्चाइज भलिबल लिग हुने भएको छ। नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच पहिलोपल्ट एभरेस्ट महिला भलिबल लिग गर्न शुक्रबार सम्झौता भएको हो।

संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र इन्फिनिटी ड्रिम्सका अध्यक्ष आमिर अख्तरले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता सात वर्षका लागि रहने संघले जनाएको छ। इन्फिनिटीले होम र अवे सिद्धान्तको अवधारणाअनुसार देशभर यो लिग आयोजना गर्न अधिकार पाएको हो।

‘देशका महिलाहरूलाई भलिबलमार्फत सशक्त बनाउने कार्यमा सँगै काम गर्नेछौं। जसले हाम्रा खेलाडीहरूलाई व्यावसायिक रूपमा सशक्त बनाउनेछ र आर्थिक रूपमा राम्रो अवस्थामा पुर्‍याउने छ,’ संघका अध्यक्ष चन्दले भने।

यस लिगको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा भलिबलको स्तर विकास गर्नु र व्यावसायिकता ल्याउनु रहेको उनले बताए। यो लिगले भलिबलप्रति युवा खेलाडीलाई राष्ट्रियस्तरमा आकर्षित गर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उनीहरूलाई प्रदर्शन गर्ने ठूलो प्लेटफर्म प्रदान गर्ने पनि उनको विश्वास छ।

इन्फिनिटीका प्रबन्ध निर्देशक अख्तरले लिगले नेपालको महिला भलिबलको उन्नतिलाई विश्वव्यापी ध्यानाकर्षण दिलाउन सक्षम हुने बताए। ‘हामीले नेपाल क्रिकेटमा एभरेस्ट प्रिमियर लिगजस्तो सफल फ्रेन्चाइज लिग सञ्चालन गरेर देशविदेशमा रहनुभएका नेपाली खेलकुदप्रेमीहरूबाट अत्यधिक माया प्राप्त गरिसकेका छौं,’ उनले भने, ‘एभरेस्ट महिला भलिबल लिगको विशेष प्रस्तुतिले भलिबलमार्फत महिला खेलाडीहरूलाई सशक्तीकरण गर्न र भलिबल क्षेत्रको समग्र सम्भावनालाई उच्च राख्न प्रमुख पहल गर्ने छ।’

इन्फिनिटी ड्रिम्सले फ्रेन्चाइज लिग गरेबापत संघलाई वार्षिक २५ लाख दिने छ।

लिगको मिति र फ्रेन्चाइज टोलीको घोषणा भने गरिएको छैन। यद्यपि, पहिलो संस्करणमा ६ टिम सहभागी हुने र आउने संस्करणमा बढाउँदै जाने अख्तरले बताए। उनका अनुसार एक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाइने छ।

प्रकाशित: २२ असार २०८१ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App