खेल

चन्द्रमालाई दोहोरो स्वर्ण

चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा शुक्रबार दोहोरो स्वर्ण जितेकी छन्। चन्द्रमाले होचा-पुड्का महिलाको एक सय र दुई सय मिटर दौडमा स्वर्ण जितेकी हुन्।

चन्द्रमाले एक सय मिटर दौड २१.२५ सेकेन्डमा पूरा गरिन्। सिर्जना सेन्चुरी दोस्रो तथा अमृता बाँस्तोला तेस्रो भए। दुई सय मिटर दौड ४५.२६ सेकेन्डमा पूरा गर्दै चन्द्रमाले अर्को स्वर्ण जितिन्। सिर्जना तथा अमृता नै क्रमशः दोस्रो र तेस्रो भए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको व्यवस्थापनमा भएको प्रतियोगिताको ह्विलचियर पुरुष एक सय मिटरमा लक्ष्मीराज भट्ट पहिलो भए। उनले २६.७६ सेकेन्ड समय लगाए। सविन थापा दोस्रो तथा सन्तोष कार्की तेस्रो भए। सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल ३६.१५ सेकेन्ड समयमा पहिलो भइन्। बविता फुयाल दोस्रो तथा प्रतीक्षा माझी तेस्रो बनिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको होचा÷पुड्का पुरुष दुई सय मिटर दौडमा लालबहादुर खत्री प्रथम भए। उनले ४३.८३ सेकेन्डमा दौड सकाए। खुर्सेद मन्सुर द्वितीय तथा राजदीप थापा क्षत्री तृतीय स्थानमा रहे। सो स्पर्धाको पुरुष एक सय मिटर दौडमा भने खुर्सेदले बाजी मारे। उनले निर्धारित दूरी २०.०५ सेकेन्डमा तय गर्दै पहिलो भए। लालबहादुर दोस्रो हुँदा मानबहादुर नेवार तेस्रो भए।

पूर्ण दृष्टिविहीनको पुरुष एक सय मिटर दौडमा विश्वराम दनुवारले स्वर्ण जिते। विश्वरामले १५.९५ सेकेन्ड समय खर्चे। धीरेन्द्र बुढाले रजत तथा विपेश चौधरीले कांस्य हात पारे। उक्त स्पर्धाको महिलामा २३.८१ सेकेन्डमा दौड पूरा गरेकी शकुन्तला वादी पहिलो भइन्। प्रेरणा खप्तरी दोस्रो तथा रेणुका तामाङ तेस्रो भए।

अल्प दृष्टिविहीनको पुरुष एक सय मिटर दौडमा दयारामनारायण चौधरी पहिलो भए। उनले १४.०९ सेकेन्डमा दौड पूरा गरे। सुवास सुनार दोस्रो तथा दावा स्याङबु शेर्पा तेस्रो भए। त्यसै स्पर्धाको महिलामा दिलसरा धमला १८.१० सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन्। सरिता घिमिरे दोस्रो तथा पवित्रा धामी तेस्रो बने।

क्रचेचतर्फ पुरुष १ सय मिटर दौडमा निखिलकुमार बुढा पहिलो भए। उनले २६.६८ सेकेन्ड समय निकाले। गिरिराज थापा दोस्रो तथा हरिबहादुर गुरुङ तेस्रो भए। सामान्य अपांगको पुरुष एक सय मिटर दौड १५.२२ सेकेन्डमा पूरा गर्दै यम्बर घले मगरले स्वर्ण जिते। हिक्मत थापामगरले रजत तथा नागेश जोशीले कांस्य प्राप्त गरे।

बौद्धिकतर्फ पुरुष १२–१५ वर्षको एक सय मिटर दौडमा मिटियोन ताचामो पहिलो भए। उनले निर्धारित दूरी १६.५० सेकेन्डमा पूरा गरे। विवेक श्रेष्ठ दोस्रो तथा कृष दुवाल तेस्रो भए। सो स्पर्धाको महिलामा सर्वदा सुवाल पहिलो भइन्। सर्वदाले ३५.०५ सेकेन्डमा निर्धारित दूरी सकाइन्।

निर्माना शाक्य दोस्रो तथा समीक्षा सिल्पकार तेस्रो भए। बौद्धिकतर्फ १८ वर्षमाथि पुरुष एक सय मिटर दौडमा अदित वज्राचार्यले स्वर्ण जिते। उनले निर्धारित दूरी १५.२१ सेकेन्डमा पूरा गरे। शक्ति तिमल्सेना दोस्रो तथा सुशन बुयो तेस्रो बने।

उक्त स्पर्धाको महिलामा २१.०३ सेकेन्डमा पूरा गर्दै निता श्रेष्ठ पहिलो बनिन्। आस्मा वज्राचार्य दोस्रो तथा लोजिना खरेल तेस्रो भए।

प्रकाशित: २२ असार २०८१ ०६:३० शनिबार

#Hocha-Pudka Women #Para Athletics Competition #Chandran Thapa Chhetri