खेल

जावलाखेललाई ह्विलचियर बास्केटबल उपाधि

जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ।  राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा बिहीबार सम्पन्न खेलमा जावलाखेलले ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) लाई ११–८ को स्कोरमा पराजित गर्दै उपाधि हात पारेको हो।

जावलाखेलले उपाधिसँगै १५ हजार रूपैयाँ प्राप्त गर्‍यो भने उपविजेता डब्लुएसएले १० हजार रूपैयाँमा चित्त बुझायो। प्रतियोगिताको पहिलो सेमिफाइनलमा जावलाखेलले विइनलाई १८–२ को फराकिलो स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। दोस्रो सेमिफाइनलमा डब्ल्युएसएले बिआइएलाई १२–६ को स्कोरमा पराजित गर्दै जावलाखेलसँगको भेट पक्का गरेको हो।

प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा विइनलाई ४–० ले पराजित गर्दै बिआइएले पाँच हजार रूपैयाँ पायो। प्रतियोगितामा टप स्कोरर डब्ल्युएसएकी ज्योति अर्याल घोषित भइन्। उनले फाइनलमा ६ स्कोर गरिन्। मोस्ट भ्यालुएबल प्लेयर जावलाखेलकी बबिता थापा चुनिइन्। उनीहरूले समान एक हजार रूपैयाँ र ट्रफी हात पारे।

प्रतियोगिता समापन समारोहमा काठमाडौं महानगरपालिका– ३० का वडाअध्यक्ष दलबहादुर कार्की, ग्यालेक्सी स्कुलकी प्रधानाध्यापक सुरिना गुरुङ, राष्ट्रिय अपांग महिला समाजकी अध्यक्ष देवी आचार्यलगायतको उपस्थिति रहेको थियो। प्रतियोगिता सम्पन्न गर्न काठमाडौं महानगरपालिका– ३० ले विशेष सहयोग गरेको थियो।

प्रकाशित: २१ असार २०८१ ०७:१४ शुक्रबार

#Jawalakhel Wheelchair Sports #Women's Wheelchair Basketball