खेल

गुणराजको विशेष प्रशिक्षण थाइल्यान्डमा

मुवाँथाई खेलाडी गुणराज रुचाल विशेष प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएका छन्। एकमहिने विशोष प्रशिक्षण गुणराजले बुधबारदेखि सुरु गर्दै छन्।

उनले बैंककस्थित टाइगर आई मिक्स मार्सल आर्ट्स एकेडेमीमा प्रशिक्षण गर्नेछन्। प्रतियोगिता र प्रशिक्षणका लागि गुणराज थाइल्यान्ड जान लागेको यो १२औं पटक हो।

२०७१ सालदेखि मुवाँथाई खेल्न थालेका गुणराजले आफ्नो करियरमा सात स्वर्ण र दुई कांस्य पदक जितेका छन्।

त्यसमा मुख्य उपलब्धि भनेको गत फागुनमा बैंककमै भएको १९औं विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण हो।

उनले सेमी–प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए। स्वर्ण नेपाली मुवाँथाईको इतिहासमा कुनै पनि खेलाडीले सेमी–प्रोमा जितेको एक मात्र स्वर्ण हो।

मुवाँथाईअघि गुणराजले सितोरियो कराते र आइकिडो खेलेका थिए। प्रशिक्षणका दौरान मिल्यो भने प्रतियोगिता पनि खेल्ने गुणराजले बताए।

प्रकाशित: १८ असार २०८१ ०६:२३ मंगलबार

#Muwanthai player Gunraj Ruchal #Bangkok-Thailand