खेल

विश्वकप विजेता र उपविजेताले कति पाए पुरस्कार राशी, अन्यलाई कति?

सन् २०२४ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको उपाधि भारतले आफ्नो नाम गरेको छ। शनिवार भएको फाइनल खेलमा साउथ अफ्रिकालाई रोमाञ्चक खेलमा ७ रनले हराउँदै भारतले १७ वर्ष पछि उपाधि आफ्नो नाम गरेको हो।

यस वर्षको विश्वकप क्रिकेटमा भारत अपराजित रहँदै उपाधि हात पारेको छ। आईसिसीले टी–२० विश्वकपका लागि ११.२५ मिलियन डलर अर्थात् ९३ करोड ५१ लाख भारतीय रुपैयाँको पुरस्कार घोषणा गरेको थियो। जसमा विजेता भारतले २० करोड ३६ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता साउथ अफ्रिकाले १०.६४ करोड भारतीय रुपैयाँ हासिल गरेको छ।

यस्तै सेमिफाइनलमा पुगेको अफगानिस्तान र इङ्ग्ल्यान्डले ६ करोड ५४ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ।

सन् २०२४ को टी–२० विश्वकप क्रिकेटमा विश्वभरका २० टीमले सहभागीता जनाएका थिए। जसमा सुपर ८ को दोस्रो राउन्डबाट अघि नबढेका टीमलाई ३ करोड १७ लाख भारतीय रुपैयाँ प्रदान गरिएको छ। 

त्यस्तै ९ देखि १२ औँ स्थानसम्म रहेका टीमलाई २ करोड ५ लाख प्रदान गरियो भने १३ औँ देखि २० औँ स्थानसम्म रहेका टीमलाई १ करोड ८७ लाख भारतीय रुपैयाँ प्रदान गरिएको छ। त्यसबाहेक पहिलो र दोस्रो राउन्डको खेलमा जित निकाल्ने टीमलाई २५ लाख ८९ हजार भारतीय रुपैयाँ प्रदान गरियो।

प्रकाशित: १६ असार २०८१ ०९:४५ आइतबार

#india #t_20worldcup #south africa #prisemoney