खेल

राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको तयारी पूरा

पहिलो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक  ई स्पोर्ट्स संघ नेपाल (ईसान)ले सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। कर्णाली प्रदेश ई स्पोर्ट्स संघ सह–आयोजक रहेको प्रतियोगिताको अन्तिम खेल शुक्रबार र शनिबार सुर्खेतमा सञ्चालन हुँदै छ।

ईसानका सचिव आशिष दाहालले प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका सम्पूर्ण खेलाडी सुर्खेत आइसकेको बताए। पब्जी मोबाइल, मोबाइल लेजेन्ड्स र ई फुटबल समावेश गरिएको राष्ट्रिय च्याम्पियनसिपको छनोटमा पब्जीमा एक सय ३६ टोली, मोबाइल लेजन्ड्समा चार टोली र ई फुटबलमा एक सय ९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

मोबाइल लेजन्ड्स र ई फुटबलको फाइनल शुक्रबार अनलाइनमा हुनेछ भने पब्जी मोबाइलको फाइनल ल्यान इभेन्टमा शुक्रबार र शनिबार सुर्खेतमा हुने सचिव दाहालले बताए। कुल पुरस्कार राशि १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाइलमा ९ लाख, मोबाइल लेजेन्ड्समा दुई लाख र ई फुटबलमा एक लाख रूपैयाँ प्रदान गरिनेछ।

यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई सहयोग पुर्‍याउने उद्देश्यले पहिलो राष्ट्रिय प्रतियोगिताका लागि सुर्खेतलाई छनोट गरिएको संघका वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसीले बताए। उनले राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट दशौं राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्स प्राथमिकतमा पर्ने विश्वास व्यक्त गरे।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको बताए।

कर्णाली प्रदेशमा रहेका ई स्पोर्ट्सका खेलाडीको आकर्षणलाई हेरेर प्रदेशले आयोजनामा सहयोग गरेको बताए। प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश ई स्पोर्ट्स संघले सहयोग गरेका छन्।

प्रकाशित: १४ असार २०८१ ०८:३३ शुक्रबार

Preparations for the National E-Sports Championship are complete Ashish Dahal Secretary of ISAN