खेल

साविक विजेता इङ्ग्ल्यान्डसँग बदला लिने भारतको सोच

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्यान्ड भिड्ने भएका छन्।

साविक विजेता समेत रहेको इङ्ग्ल्यान्ड र भारतबीचको खेला प्रोभिडेन्स स्टेडियम गुयानामा राति ८ः१५ बजेबाट सुरु हुनेछ।

रोहित शर्माको कप्तानीमा रहेको भारत जारी सिजनमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो भने जोस बटलरको कप्तानीमा रहेको इङ्ग्ल्यान्ड समूह चरण र सुपर ८ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

गत सिजनमा इङ्ग्ल्यान्डले सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। त्यसकारण आजको खेलमा भारतसँग आफ्नो हारको बदला लिने राम्रो मौका रहेको छ। साथै भारतसँग नकआउट चरणमा पछिल्लो एक दशकभन्दा बढी समयदेखि भोग्दै आएको पराजयलाई पनि जितमा परिणत गर्ने राम्रो अवसर रहेको छ।

सन् २०२२ मा भएको आईसिसी टी–२० क्रिकेटमा इङ्ग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो। त्यसकारण आजको खेलमा भारतले आफ्नो सबै ध्यान उक्त खेलको बदला लिन र फाइनलमा स्थान सुरक्षित गर्नमा ध्यान केन्द्रीत गर्नेछ।

भारतले सन् २००७ मा भएको आईसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेपछि हालसम्म उपाधि जित्न सकेको छैन। त्यसकारण पनि आजको खेलमा जित निकाल्दै फाइनलमा उपाधिका लागि आफूलाई तयार गर्न चाहन्छ।

इङ्ग्ल्यान्डले भने आईसिसी टी–२० को उपाधि हालसम्म २ पटक हात पारिसकेको छ।

आजको खेलमा जित्ने टोलीले फाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ। दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाइसकेको छ। उपाधि भिडन्त भने शनिवार राति ८ः१५ बजेबाट सुरु हुनेछ।

प्रकाशित: १३ असार २०८१ १०:५६ बिहीबार

#rohit sharma #india #T20 World Cup #england #josh buttler