खेल

आज भारत र अस्ट्रेलिया भिड्दै, वर्षा बाधक बने कसलाई फाइदा?

आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत आज भारत र अस्ट्रेलिया भिड्दै छन्। डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

समूह ‘ए’ मा रहेको भारत र अस्ट्रेलिया दुबै आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाउन चाहन्छ।

रोहित शर्माको कप्तानीमा रहेको भारतले यदि आजको खेलमा फराकिलो अन्तरको जित निकाल्यो भने उ सेमिफाइनलमा पुग्ने लगभग निश्चित हुन्छ। सन् २०२३ को एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग उपाधि भिडन्तमा पराजित भएको भारतसँग आजको खेलमा बदला लिने मौका छ।

यता, मिचेल मार्सको कप्तानीमा रहेको अस्ट्रेलिया अफगानिस्तानसँग पराजित भएका कारण उसलाई आजको खेल जित्नै पर्ने दबाब छ।

तर, आजको खेलमा वर्षा बाधक बन्न सक्ने सम्भावना देखिएको छ। ग्रस आइलेटको मौसम विभागका अनुसार आज त्यहाँ ठूलो आँधी र वर्षाको सम्भावना रहेको छ।

यदि आजको खेल वर्षाका कारण प्रभावित भयो वा रद्द भयो भने दुबै टीमले एक÷एक अङ्क बाँड्ने छन्। कारण, सुपर ८ को खेलका लागि रिजर्भ डे राखिएको छैन। त्यसकारण वर्षाका कारण खेल रद्द भएमा भारतले पाउने एक अङ्कका साथ समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने छ। तर, अस्ट्रेलियालाई भने एक अङ्कले कुनै फाइदा हुने छैन। कारण, उसको ३ अङ्क मात्रै हुनेछ।

प्रकाशित: १० असार २०८१ ११:१६ सोमबार

#T20 World Cup #india #australia #rohit sharma #mitchel marsh