खेल

विदेशी फ्रेन्चाइज लिगमा रोहितको डेब्यु

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले ग्लोबल ट्वान्टी– २० क्यानडा फ्रेन्चाइज प्रतियोगितामा डेब्यु गर्ने भएका छन्। उनी टोरन्टो नेसनल्समा अनुबन्धित भएका हुन्। सन् २०१९ जनवरी ३१,  मा दुबईमा घरेलु टोली संयुक्त अरब इमिरेट (युएई)विरुद्ध भएको तीन खेलको ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामार्फत उनले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। 

त्यसयता नेपाली राष्ट्रिय टोलीबाट ५२ खेल खेलेका उनले एक हजार १४४ रन बनाएका छन्। ब्याटिङतर्फ २७.९० को औसत र १२२.७४ को स्ट्राइक रेटमा उनले ६ अर्धशतक प्रहार गरेका छन्। बलिङतर्फ उनले सात विकेट लिएका छन्। यद्यपि, उनले कुनै विदेशी लिगको अनुभव बटुल्न पाएका छैनन्। यही लिगमार्फत उनी विदेशी लिगमा डेब्यु गर्ने भएका हुन्।  

रोहित अनुबन्धित टोलीमा अफगानिस्ताका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीसँगै कोलिन मुन्द्रो, मोहम्मद नवाज, रोमारियो सेफर्ड र रसि भान डुसेनजस्ता विदेशी खेलाडी छन्। अफ्रिदीले पनि प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेका हुन्।

भ्यानकुभरमा सन्दीप र दीपेन्द्र  

लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले पुनः ग्लोबल ट्वान्टी– २० खेल्ने भएका छन्। उनीहरूलाई भ्यानकुभर नाइट्सले अनुबन्धित गरेको हो। सन्दीपले पहिलो संस्करणदेखि नै ग्लोबल ट्वान्टी– २० खेलिरहेका छन्। सन् २०१८ मा पहिलोपल्ट आयोजना भएको लिगमा उनले मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए। समूहचरणका पाँच खेलमा उनले ११ विकेट लिएका थिए।

अर्को संस्करणमा सन्दीप टोरन्टो नेसनल्समा अनुबन्ध भएका थिए। चार खेल खेलेका उनले पाँच विकेट लिएका थिए। पछिल्लो संस्करणमा उनले सर्रे जागुअर्सलाई फाइनलसम्म पुर्‍याएका थिए। आठ खेल खेलेका उनले ११ विकेट लिए। यद्यपि, फाइनलमा सर्रे जागुअर्स दीपेन्द्र आबद्ध मोन्ट्रियल टाइगर्ससँग पाँच विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

दीपेन्द्रको भने यो दोस्रो संस्करण हो। उनले पहिलो सहभागितामै मोन्ट्रियल टाइगर्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलका थिए। ६ इनिङमा २८.६० को औसत र १०२.१४ को स्ट्राइक रेटमा उनले १४३ रन बनाएका थिए। यस्तै, तीन इनिङमा ६ ओभर बलिङ गर्दै २१‍.०० को औसत र ७.०० को इकोनोमीमा ४२ रन खर्चिंदै दुई विकेट लिएका थिए।  

सन्दीप र दीपेन्द्र अनुबन्धित टोलीमा पाकिस्तानका कप्तान बाबर आजमसँगै मोहम्मद रिजवान र मोहम्मद आमिर रहेका छन्। उनीहरूबाहेक ड्वेन प्रिटोरियस, पल भ्यान मिकरेन र रुबेन ट्रम्पलम्यान पनि रहेका छन्। भ्यानकुभर नाइट्सले सन् २०१८ मा प्रतियोगिताको पहिलो संस्करण जितेको थियो भने २०१९ मा दोस्रो संस्करणको उपविजेता बनेको थियो।

ग्लोबल टी–२० को पहिलो दुई संस्करण सन् २०१८ र २०१९ मा भए पनि त्यसपछि कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो। सन् २०२३ मा आन्द्रे रसेल, मोहम्मद रिजवान र साकिब अल हसनलगायत विदेशी खेलाडीलाई आकर्षित गर्दै तेस्रो संस्करण आयोजना गरिएको थियो।

ग्लोबल टी–२० को चौथो संस्करण जुलाई २५ देखि अगस्ट ११ सम्म हुनेछ । लिगमा मोन्ट्रियल टाइगर्स, सर्रे जागुअर्स, टोरन्टो नेसनल्स, बंगला टाइगर्स मिसिसागा, ब्राम्पटन वुल्भ्स र भ्यानकुभर नाइट्सले सहभागिता जनाउनेछन्। ड्राफ्टअघि नै धेरै खेलाडीलाई टिमले रिटेन गरिसकेका थिए। यसपटक सुनील नारायण, मार्कस स्टोइनिस र डेभिड वार्नर पनि यो लिगमा अनुबन्धित भएका छन्।

दीपेन्द्रलाई निरन्तरता

दीपेन्द्रले गल्फ जायन्ट्सबाट युएईको इन्टरनेसनल लिग ट्वान्टी–२० खेल्ने भएका छन्। उनी पछिल्लो संस्करण पनि गल्फ गल्फ जायन्ट्समा अनुबन्धित भएका थिए। यस पटक पनि उनलाई टोलीले निरन्तरता दिएको हो। यसअघि वेस्ट इन्डिजका सिमरन हेटमेयर, इङ्ल्यान्डका क्रिस जोर्डन र जेम्स भिन्स एवं अस्ट्रेलियाका क्रिस लिनलगायतका क्रिकेटर आबद्ध रहेको टोली दोस्रो क्वालिफायरबाट बाहिरियो।

तीन खेलमा उपलब्ध भए पनि दीपेन्द्र तीनै खेलमा बेन्चमा बसेर स्वदेश फर्किएका थिए। दीपेन्द्रले नेपाली राष्ट्रिय टोलीका लागि ६७ ट्वान्टी–२० आईको ५९ इनिङमा एक शतक र नौ अर्धशतकसहित एक हजार ६५८ रन बनाएका छन् । ४२ इनिङमा बलिङ गरेका उनले ४३ विकेटसमेत लिएका छन्। गल्फ जायन्ट्सले दीपेन्द्रसँगै क्रिस जोर्डन, जेमी स्मिथ, सिमरोना हेटमायरलगायतलाई पनि ‘रिटेन’ गरेको छ। इन्टरनेसनल लिग ट्वान्टी–२० को तेस्रो सिजन २०२५ जनवरी ११ देखि ९ फेब्र्रुअरीसम्म अबुधाबी, दुबई र शारजहाँमा खेल्ने तालिका छ। दीपेन्द्रले स्कटल्यान्डको फ्रेन्चाइज क्रिकेट लिग स्कटिस सुपर टी–१० पनि खेल्नेछन्। क्रिकेट स्कटल्यान्डले अगस्ट १६ देखि ३१ सम्म गर्न लागेको लिगमा दीपेन्द्र पर्थ रोयल्समा अनुबन्धित भएका छन्।

प्रकाशित: ९ असार २०८१ ०७:२८ आइतबार

#Nepali-National-Team #Captain-Rohit Kumar-Poudel #Spinner-Sandeep-Lamichhane #Dipendrasingh-Airee