खेल

वर्षा बाधक बनेको खेलमा डिएलएस नियमः बङ्गलादेशमाथि अस्ट्रेलियाको जित

आईसिसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले जित हात पारेको छ।

वर्षाका कारण प्रभावित बनेको खेलमा डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) नियम भएपछि अस्ट्रेलियाले बङ्गलादेशमाथि २८ रनको जित निकालेको हो।

सर विभियन रिचर्ड्स स्टेडियममा जारी सुपर ८ को खेल अन्तर्गत बङ्गलादेशले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको अस्ट्रेलियाले ब्याटिङ्ग गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। वर्षा सुरु हुनु अघिसम्म अस्ट्रिेलियाले ६.२ ओभर खेल्दै विना कुनै विकेटको क्षतिमा ६४ रन बनाइसकेको थियो। त्यसपछि पुनः सुरु भएको खेलमा अस्ट्रेलियाले २ विकेटको क्षतिमा ११.२ ओभर खेल्दै १०० रन बनायो। त्यसपछि पुनः वर्षा सुरु भएपछि डिएलएस नियम लागू गर्दै अस्ट्रेलियाले जित हात पारेको हो।

अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान डेभिड वार्नरले सर्वाधिक ५३ रन बनाउँदा ट्रेभिस हेड ३१ रनमा आउट भए। मिचेल मार्स १ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १४ रन बनाए।

बङ्गलादेशका लागि दुबै विकेट राशिद होसेनले लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेशले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १४० रन बनाएको थियो।

बङ्गलादेशका लागि कप्तान नजमुल होसेन सान्टोले ४१ रन जोड्दा तोहिद हृदयोयले ४० रनको पारी खेले। त्यसबाहेक अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

बङ्गलादेशलाई विशाल रन जोड्नबाट रोक्न अस्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए भने एडम जाम्पाले २ विकेट लिए। ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान १/१ विकेट हात पारे।

प्रकाशित: ७ असार २०८१ १०:३१ शुक्रबार