खेल

नेपालको तीन स्थान सुधार

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) विश्व वरीयतामा नेपालले सुधार गरेको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो। योसँगै नेपाल १७५औं स्थानमा पुगेको छ। नेपाल यसअघि मार्चमा १७८औं स्थानमा थियो। मार्चयता नेपालले एक अनौपचारिकसहित तीन खेल खेलेको छ।

इङ्ल्यान्ड ‘सी’ सँग २–० र सयुंक्त अरब इमिरेट (युएई)सँग ४–० गोलअन्तरले पराजित भएको नेपालले गत जुन ११ मा फिफा विश्वकप दोस्रो छनोटअन्तर्गत भएको खेलमा यमनलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको थियो।

नेपाल दक्षिण एसियातर्फको वरीयतामा तेस्रो स्थानमा यथावत् छ। नेपालभन्दा अगाडि भारत (१२४औं स्थानमा) रहेको छ। यसअघि १२१औं स्थानमा रहेको भारत तीन स्थान तल खस्किएको हो। दोस्रो स्थानमा मल्दिभ्स (१६०औं) रहेको छ।

नेपालभन्दा पछाडि भुटान (१८३औं), बंगलादेश (१८५औं), पाकिस्तान (१९७औं) र श्रीलंका (२०६औं) रहेका छन्। एसियातर्फ जापान शीर्ष स्थानमा छ। एसियाको पावर हाउस जापान १७औं स्थानमा रहेको छ। जापानपछि इरान २० र दक्षिण कोरिया २२औं स्थानमा छन्।

विश्व वरीयतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा यथावत् छन्। ब्राजिल एक स्थान माथि उक्लिँदै चौथो स्थानमा पुगेको छ। इङ्ल्यान्ड भने एक स्थान तल झर्दै पाँचौंमा पुगेको छ।

प्रकाशित: ७ असार २०८१ ०८:४८ शुक्रबार

Nepal's three-place reform International Football Federation (FIFA)