खेल

अफगानिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै भारत

आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत बिहीबार अफगानिस्तानविरुद्ध टस जितेर भारतले पहिला ब्याटिङ रोजेको छ।

केनिङ्स्टन ओभल, ब्रिजटाउनमा जारी खेलमा भारतीय टिमका कप्तान रोहित शर्माले टस जितेर अफगानिस्तानलाई फिल्डिङको निम्तो दिएका हुन्।

भारत समूह ‘ए’ को विजेता हुँदै सुपर ८ मा पुगेको हो भने राशिद खानको कप्तानीमा रहेको अफगानिस्तान समूह ‘सी’ को उपविजेता हुँदै सुपर ८ मा पुगेको हो।

आजको खेलमा भारतका अर्षदीप सिंह, सूर्यकुमार यादव, यशस्वी जयसवाल र अक्षर पटेलमाथि सबैको नजर रहने छन् भने अफगानिस्तानका फजलहक फारुकी, इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज र राशिद खानमाथि सबैको विशेष नजर रहने छ।

तर, भारतका लागि खेल मैदान खतरा उत्पन्न गराउन सक्ने देखिन्छ। बारबाडोसको राजधानी ब्रिजटाउनमा रहेको उक्त खेल मैदान भारतका लागि ‘अन लक्की’ रहेको छ।

भारतीय टीमले हालसम्म यस मैदानमा खेलेको खेल मध्य एक टी–२० पनि जितेको छैन। भारतले केनिङ्स्टन ओभलमा हालसम्म २ टी–२० खेलेको छ र दुबैमा पराजित भएको छ। उक्त दुवै खेल सन् २०१० मा खेलिएको थियो। अब भारत १४ वर्ष पछि उक्त मैदानमा फेरि उत्रँदै छ।

हेड टु हेड मा भारत र अफगानिस्तानबीच हालसम्म ८ टी–२० खेल भएका छन्। जसमा भारतले ७ खेलमा जित हात पारेको छ भने अफगानिस्तान सबैमा पराजित भएको छ। जबकि एक खेल नतिजाविहीन रहेका थियो।

प्रकाशित: ६ असार २०८१ २०:३१ बिहीबार