खेल

राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन

नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधवार टिम च्याम्पियन बनेको छ। आर्मीले ६ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो।

नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली एपीएफ क्लब ५ स्वर्ण, ६ रजत र ५ कांस्यकासाथ दोश्रो भयो। तेस्रो स्थानको बागमती प्रदेशले १ स्वर्ण, १ रजत र ६ कांस्य हात पार्‍यो।

प्रतियोगितामा बागमती, गण्डकी, कोसी र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली आर्मी र एपीएफ गरी ६ टिमको सहभागिता रहेको थियो। बाँकी प्रदेशले स्वर्ण नजिते पनि पदकविहीन भने भएनन्। गण्डकीले २ रजत र ४ कांस्य, सुदूरपश्चिमले १ रजत र ३ कांस्य तथा कोसीले १ कांस्य जिते।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा आर्मीका उपेन्द्र शाही र महिलामा एपीएफकी अनित कार्की उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही १० हजार नगद पुरस्कार पाए।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अन्जन धमला, आयोजक फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे। तीन दिने प्रतियोगितामा १ सय १२ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन्। 

प्रकाशित: ५ असार २०८१ १९:३१ बुधबार

#Nepal Army #Sixth National Fencing Competition #National Sports Council (Rakhep) ##Member – Secretary Tanklal Ghising