खेल

टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन पछि विलियमसनले छाडे कप्तानी

न्यूजिल्यान्डका कप्तान केन विलियमसनले टी–२० र एकदिवसीय क्रिकेटको कप्तानी छाडेका छन्।

जारी आईसिसी टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्यान्डको खराब प्रदर्शनका कारण उनले दुबै फर्म्याटको कप्तानी छाडेका हुन्।

साथै उनले सन् २०२४–२५ सिजनका लागि केन्द्रीय सम्झौता पनि नगर्ने बताएका छन्।

विलियमसनले टेस्ट टीमको कप्तानी यसअघि नै छाडिसकेका छन्। उनले टी–२० को कप्तानी छाडेपनि र केन्द्रीय सम्झौतामा नरहेपनि तीन वटै फर्म्याटका लागि भने आफू उपलब्ध रहने बताएका छन्।

गत सिजनको टी–२० विश्वकपको सेमिफाइनलसम्म पुगेको न्यूजिल्यान्ड जारी सिजनको प्ले अफसम्म नपुग्दै प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘सी’ मा परेको न्यूजिल्यान्ड जारी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनले पराजित भयो भने दोस्रो खेलमा वेस्ट इन्डिजसँग १३ रनले पराजित भयो। युगान्डालाई ९ विकेट र पपुआ न्यूगिनीलाई ७ विकेटले पराजित गरेपनि न्यूजिल्यान्डले सुपर ८ मा स्थान बनाउन सकेन।

३३ वर्षीय विलियमसनले न्यूजिल्यान्डको गर्मीयाममा हुने खेलका लागि आफू तयारीमा जुट्ने र देशका लागि केही गर्ने बताएका छन्।

उनले न्यूजिल्यान्डका लागि खेल्नु आफ्नो लागि गर्वको विषय रहेको भन्दै इङ्ग्ल्यान्डविरुद्धको खेलका लागि थप तयारीका साथ मैदान उत्रने बताए। 

प्रकाशित: ५ असार २०८१ १३:१३ बुधबार

#New Zealand #kane williamson #t_20worldcup #Captain