खेल

फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन्। बिहीबार विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिका लागि डिपिएस र ग्यालेक्सी भिड्ने भएका हुन्।

मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डिपिएसले गोदावरी स्कुललाई ४–० गोलले पराजित गर्‍यो। जितका लागि डिपिएसका इमान खवास र जेनियुल विष्टले समान २÷२ गोल गरे । खेलको प्लेयर अफ द म्याच विष्ट घोषित भए।

पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको थियो। प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन्।  

प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले ११ हजार रूपैयाँ पाउनेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख रूपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए। 

प्रतियोगिताको विभिन्न आठवटा विधामा पुरस्कार वितरण गरिनेछ। विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो।

प्रकाशित: ५ असार २०८१ ०८:३० बुधबार

#Pabson Virat Cup Football #Delhi-Public-School #Galaxy-School