खेल

भारतसँगको म्याच हारेपछि रुदै मैदानबाट बाहिरिए नसीम

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आइतवार भएको खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराउँदै जित हात पार्‍यो

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको भारतले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो। यता, १२० रनको जवाफी लक्ष्यसहित मैदान उत्रेको पाकिस्तानले सुरुआत राम्रै गरेपनि भारतीय बलरसमक्ष धेरै बेर टिक्न सकेनन्। अन्ततः भारतले ६ रनले म्याचमा जित निकाल्यो।

निकै रोमाञ्चक मोडमा पुगेको म्याचमा पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा १८ रनको खाँचो थियो। तर, मैदानमा रहेका पाकिस्तानी खेलाडी नसीम शाह र शाहिन शाह अफ्रिदीले ११ रन मात्रै बनाउन सके।

भारत र पाकिस्तान बीचको म्याच सँधै सबैका लागि चर्चाको विषय बन्ने गरेको छ। त्यसकारण पनि दुबै देश र तीनका समर्थकहरूका लागि जित्नै पर्ने दबाब र चाहना हुन्छ। तर, भारतसँगको म्याचमा हारेपछि पाकिस्तानका तीव्र गतिका बलर नसीमले भने आफ्नो आँशु रोक्न सकेनन्।

भारतलाई सोचे अनुसारभन्दा कम रनमै समेट्न नसीमले राम्रो प्रदर्शन गर्दै जम्मा २३ रन खर्चेर ३ विकेट लिए। सुरुआतमा राम्रो खेल्दा पाकिस्तानले म्याच जित्न सक्ने धेरैलाई लाग्यो पनि। तर, अन्तिम ओभरसम्म म्याच पल्टियो र भारतले जित हासिल गर्‍यो।

पराजित भएपछि मैदानबाट नसीम रुँदै बाहिरिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। रुदै बाहिरिँदा मैदानमा उनीसँगै रहेका शाहीन अफ्रिदीले उनको हौसला बढाएको देखिन्छ।

भारतीय टिमका कप्तान रोहित शर्माले पनि नसीमको मनोबल बढाइरहेको देख्न सकिन्छ।

जारी प्रतियोगितामा भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको यो लगातार दोस्रो हार हो। भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो।

प्रकाशित: २८ जेष्ठ २०८१ ०९:५० सोमबार

#india #Pakistan #T20 World Cup #bharat #nasim_shah