खेल

रानीवनमाथि खालीबारीको जित

रानीवनविरुद्ध गोल गरेपछि खालीबारीका सानुकान्छा तामाङ। तस्बिर: एन्फा

रानीवन स्पोर्ट्स क्लबलाई पराजित गर्दै खालीबारी युथ क्लबले चौथो स्थानमा पुगेर सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्त्य गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा रेलिगेसन भइसकेको रानीवनमाथि खालिबारीले १–० गोल अन्तरको जित हासिल गरेको हो। खालीबारीको जितमा सानुकान्छा तामाङले गरेको गोल नै निर्णायक रह्यो।

उनले १९औं मिनेटमा गोल गरेका थिए। सन्देश चौधरीले मध्यभागनजिकबाट खाली ठाउँमा उपलब्ध गराइदिएको बललाई नियन्त्रणमा लिँदै सानुकान्छाले गोलमा परिणत गरे। त्यसपछि खेलमा कुनै गोल हुन सकेन र रेलिगेसन भइसकेको रानीवनले हारसहित लिगको अन्त्य ग¥यो।

बाजुरादेखि लिग खेल्न काठमाडौं ओर्लिएको रानीवन २०७८ असोज २५ गते भएको आफ्नो पोलको अन्तिम खेलमा नुवाकोट युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ‘सी’ डिभिजनमा बढुवा भएको थियो। तर, बढुवा भएको पहिलो सिजनमा रानीवनले अपेक्षाकृत प्रदर्शन गर्न सकेन। १३ खेलमा एक जित, पाँच बराबरी र सात हारको नतिजासहित रानीवनले आठ अंक मात्रै जोड्न सक्यो।

१३औं स्थानमा रहेर लिग सकेको रानीवनले प्रतियोगितामा २२ गोल खाँदा ६ गोल मात्रै फर्काउन सक्यो। रानीवनले अर्को सिजन ‘सी’ डिभिजन छनोटबाट लिग यात्रा सुरुआत गर्नेछ। चौथो स्थानमा उक्लिएको खालिबारीले १३ खेलबाट २० अंक जोड्यो। प्रतियोगितामा पाँच जित, पाँच बराबरी र तीन हार बेहोरेको खालीबारीले लिगमा ११ गोल गर्दा सात गोल खायो।

अर्को खेलमा शिवप्रसाद चौलागाईंले दुई र सुरज थारूले एक गोल गरेसँगै महावीर क्लबले मनोहरा युनाइटेड युथ क्लबलाई ३–१ ले पराजित गर्‍यो। १०औं मिनेटमै शिवले डी बक्सबाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो।

शिवले नै महावीरका लागि सिजनको पहिलो खेलमा खालीबारीविरुद्ध गोल गरेका थिए। उनले नै सिजनको अन्तिम खेलमा पहिलो गोल गरे। त्यसको १० मिनेटपछि नै उनले महावीरको अग्रता दोब्बर बनाए।

मनोहराका डिफेन्डरद्वय आशिष प्रजा र विजय श्रेष्ठबीच तालमेल नमिल्दा प्राप्त भएको बललाई शिवले गोलमा परिणत गरे। पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा सुरजले गोल गर्दै महावीरलाई ३–० को अग्रता दिलाए।

विजेनचान्सी श्रेष्ठले खाली ठाउँमा उपलब्ध गराइदिएको बललाई नियन्त्रणमा लिँदै सुरजले डी बक्सभित्र पुर्‍याएका थिए। उनले विजयलाई बिट गर्दै गोल गरे। ६९औं मिनेटमा मनोहराका सञ्जय थारूले एक गोल फर्काए। मनोज राईले दिएको क्रस बललाई अनमाक रहेका सञ्जयले गोलमा परिणत गरे। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन्।

जितसँगै आठौं स्थानमा उक्लिएको महावीरले १३ खेलमा चार जित, चार बराबरी र पाँच हारसहित १६ अंक जोड्यो। लिगमा महावीरले २१ गोल खाँदा १४ गोल फर्कायो।

१०औं स्थान झरेको मनोहराले समान खेलमा चार हार, तीन बराबरी र ५ हार बेहोर्दै १५ अंक जोड्यो। मनोहराले २४ गोल खाँदा १७ गोल फर्कायो।

प्रकाशित: २८ जेष्ठ २०८१ ०७:०५ सोमबार

Shahid Smarak 'C' Division League Empty win over Raniwan