खेल

स्कटिस लिगमा दीपेन्द्र

नेपाली राष्ट्रिय टोलीलाई ब्याटिङ र बलिङ दुवैबाट उत्तिकै  महत्त्वपूर्ण योगदान दिन सक्ने अलराउन्डर हुन्, दीपेन्द्रसिंह ऐरी। अगस्ट १, २०१८ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गर्दाताकादेखि नै राष्ट्रिय टोलीमा नियमित स्थान बनाइरहेका दीपेन्द्रले घरेलु होस् या अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनै दीपेन्द्रले तेस्रो पटक विदेशी फ्रेन्चाइज लिग खेल्ने भएका छन्।

दीपेन्द्रका म्यानेजर रवि तिमिल्सिनाका अनुसार उनी स्कटल्यान्डको फ्रेन्चाइज क्रिकेट लिग स्कटिस सुपर टी–१० मा आबद्ध भएका हुन्। क्रिकेट स्कटल्यान्डले अगस्ट १६ देखि ३१ सम्म गर्न लागेको लिगमा दीपेन्द्रले पर्थ रोयल्सबाट खेल्ने तिमिल्सिनाले जानकारी दिए । ‘दीपेन्द्रले स्कटिस सुपर टी–१० मा पर्थ रोयल्सबाट खेल्दै छन्,’ उनले भने ।

हाल विश्वकप आइसिसी ट्वान्टी–२० विश्वकपमा व्यस्त रहेका दीपन्द्रले यसअघि क्यानडामा भएको तेस्रो संस्करणको ग्लोबल टी–२० लिग खेलेका थिए। ड्राफ्टमार्फत उनी मोन्ट्रियल टाइगर्समा अनुबन्धित भएका थिए। वेस्ट इन्डिजका आन्द्रे रसेल, कार्लोस ब्राथवेट तथा शेरफेन रदरफोर्ड र बंगलादेशका शकिब अल हसनजस्ता विश्वप्रसिद्ध खेलाडीले भरिएको टोलीलाई उपाधि दिलाउन उनले  महत्तपूर्ण भूमिका खेलेका थिए। 

६ इनिङमा २८.६० को औसत र १०२.१४ को स्ट्राइक रेटमा उनले १४३ रन बनाएका थिए । यस्तै, तीन इनिङमा ६ ओभर बलिङ गर्दै २१‍.०० को औसत र ७.०० को इकोनोमीमा ४२ रन खर्चिंदै दुई विकेट लिएका थिए। त्यसपछि उनी गल्फ जायन्ट्सबाट युएईको इन्टरनेसनल लिग ट्वान्टी–२० मा आबद्ध भए। तर, वेस्ट इन्डिजका सिमरन हेटमेयर, इङ्ल्यान्डमा क्रिस जोर्डन र जेम्स भिन्स एवं अस्ट्रेलियाका क्रिस लिनलगायतका क्रिकेटर आबद्ध रहेको टोली दोस्रो क्वालिफायरबाट बाहिरियो।

तीन खेलमा उपलब्ध भए पनि उनी तीनै खेलमा बेन्चमा बसेर स्वदेश फर्किएका थिए । दीपेन्द्रले नेपाली राष्ट्रिय टोलीका लागि ६५ ट्वान्टी–२० आईको ५७ इनिङमा एक शतक र नौ अर्धशतकसहित एक हजार ६२७ रन बनाएका छन्। ४० इनिङमा बलिङ गरेका उनले ३८ विकेटसमेत लिएका छन् । उनी ट्वान्टी–२० आईमा नेपालका सर्वाधिक रनकर्तासमेत हुन्। उनलाई एक हजार १४३ रनसहित कप्तान रोहितकुमार पौडेल र एक हजार ८८ रनसहित ओपनर कुशल भुर्तेलले पछ्याइरहेका छन्। दीपेन्द्रको नाममा ट्वान्टी–२० आई क्रिकेटमा नौ बलमा अर्धशतक प्रहार गरेको कीर्तिमानसमेत छ। उनले गत वर्ष चीनको हान्झाउमा सम्पन्न एसियन गेम्समा मंगोलियाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए।

यसै वर्ष एसिसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा उनले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। यसअघि नेपालका पूर्वकप्तान पारस खड्कासहित सन्दीप लामिछाने, सोमपाल कामी, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन्। स्कटिस सुपर टी–१० इङ्ल्यान्डबाहिर युरोपको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिग हो। ३४ खेल हुने यो लिगमा ६ वटा फ्रेन्चाइजीले सहभागिता जनाउने क्रिकेट स्कटल्यान्डले बताएको छ।

लिगमा अफगानिस्तानका रासिद खान र रहमानुल्लाह गुरबाज, जिम्बावेका अलराउन्डर सिकन्दर राजा, पाकिस्तानका तीव्र गतिका बलर नसिम शाह, इङ्ल्यान्डका ब्याट्सम्यान एलेक्स हेल्स र न्युजिल्यान्डका फिन एलेनले पनि खेल्ने बताइएको छ।

प्रत्येक टोलीमा नौ जनासम्म विदेशी खेलाडी राख्न पाइने क्रिकेट स्कटल्यान्डले जनाएको छ। प्रत्येक टोलीमा दुई अन्तर्राष्ट्रिय मार्की खेलाडी रहनेछन् भने बाँकी खेलाडी ड्राफ्टमार्फत छनोट हुनेछन्।

प्रकाशित: २५ जेष्ठ २०८१ ०६:४३ शुक्रबार

#Nepali National Team #Batting and bowling #All-rounder Dipendra Singh Airey