खेल

सुपर ओभरमा अमेरिकासँग हार्‍यो पाकिस्तान

आइसिसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत बिहीबार भएको खेलमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ।

अमेरिकाको ग्राउन्ड प्रेरी स्टेडियममा निर्धारित २० ओभरको खेलमा दुवै टिमले स्कोर बराबरी गरेपछि खेल सुपरओभर तर्फ धकेलिएको थियो।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले १८ रन बनायो। जवाफमा १९ रनको विजयी लक्ष पाएको पाकिस्तानले मात्र १३ रन बनाउन सक्यो। र खेलको उपाधि अमेरिकालाई थमाइदियो।

अमेरिकाका लागि सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए। सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिएका थिए। 

समूह ‘ए’ मा अमेरिकाको यो दोस्रो जित हो। पाकिस्तानलाई पराजित गरेर अमेरिकाले आफ्नो सुपर–८ को सम्भावना मजबुत बनाएको छ। अमेरिकाले क्रिकेट इतिहासमा  पाकिस्तानलाई हराएको यो पहिलो पटक हो।

अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै सुपर ओभरमा पुर्याएका थिए।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धसतकीय पारी खेले। उनले ३७ बलको सामना गर्दै ५० रन बनाए।

ओपनर स्टीवन टेलर १६ बलमा १२ रन बनाएर आउट भए। त्यसपछि एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे। उनले २६ बलमा ३५ रनको योगदान दिए।

आरोन जोन्सले २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद आमिर, नसीम शाह र हारिस रउफ़ले समान एक-एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो।

पाकिस्तानका लागि कप्तान बाबर आज़मले सर्वाधिक ४४ रन बनाए। उनले ४३ बलको सामना गर्दै २ छक्का र ३ चौकाको मद्दतमा टिमका लागि सो संख्या जोडेर आउट भए।

बाबरसँगै ओपनरका रुपमा मैदान उत्रेका मोहम्मद रिजवान ६ बलमा मात्र ९ रन बनाएर आउट भए। स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन।

शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे। इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए।

अमेरिकाका लागि नॉस्थुश केनजिगेले ३, सौरभ नेत्रवलकरले २, अली ख़ान र जसदीप सिंहले समान एक-एक विकेट लिए।

अमेरिकाले पहिलो खेलमा क्यानडालाई ७ विकेटले हराएको थियो। अमेरिकाले अब १२ जुनमा भारत र १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ।

पाकिस्तानले अब ९ जुनमा न्यूयोर्कमा भारतसँग खेल्नेछ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा र आयरल्यान्ड छन्।

प्रकाशित: २५ जेष्ठ २०८१ ०१:२३ शुक्रबार