खेल

फिफा विश्वकप छनोट: नेपाल आज युएईसँग खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुँदै छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे खेल हुने छ।

यसअघि नेपाल र युएईबीच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४-० ले पराजित भएको थियो। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। फिफा वरीयतामा युएई ६७औं स्थानमा छ भने नेपाल एक सय ७८औं स्थानमा छ।

नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन्। त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन्।

यसैगरी मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशिष राई छन् । फरवार्डमा जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी रहेका छन्। –रासस

प्रकाशित: २४ जेष्ठ २०८१ ०९:२३ बिहीबार

#Nepal vs United Arab Emirates #Qualifiers #FIFA World Cup 2026