खेल

अन्तर्राष्ट्रिय कबड्डीमा नेपाललाई पहिलो रजत पदक

नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय कबड्डीमा रजत पदक जितेको छ। बङ्गबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको नेपालले अन्तर्राष्ट्रिय कबड्डीमा पहिलो पटक रजत पदक जितेको हो।

सोमवार ढाकास्थित सहिद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग ४५–३१ ले पराजित हुँदै उपविजेता बनेको हो।

१२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए।

सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता केन्यालाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो भने बङ्गलादेशलेले थाइल्याण्डलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।

समूह चरणमा पाँच मध्ये चार खेल जितेको नेपाल बङ्गलादेशसँगै पराजित भएको थियो। फाइनलमा पनि नेपालले बङ्गलादेशसँग खेल्दा बदला लिने अवसर थियो। तर, घरेलु दर्शक र मैदानको साथ पाएको बङ्गलादेशले नेपाललाई दोस्रो पटक हराउँदै उपाधि जित्यो।

प्रकाशित: २२ जेष्ठ २०८१ ०६:५३ मंगलबार

#kabaddi #nepal #silver #bangabandhu_kabaddi