खेल

हामी सबै किसिमले विश्वकपका लागि तयार छौँ: मोन्टी देसाई

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाल सबै किसिमले विश्वकप खेल्न तयार रहेको बताएका छन्। शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले हाल नेपाली टोली पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको जानकारी दिए।

यस पटक दुई वटा देशमा विश्वकप हुने भएको सो स्थानहरुको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको उनको भनाइ थियो।

नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने उनले जनाए।

‘हामीले पहिलो गेमका लागि फोकस गरेर तयारी गरिरहेका छाैँ। हामी अब सबै किसिमले विश्वकपका लागि तयार छौँ। नयाँ ठाउँमा केही तयारी गर्नुपर्ने हुन्छ। त्यसकै लागि हामी करिब एक महिनाअघि नै आएर यहाँ भिज्ने प्रयास गरेका छौँ। दुई फरक-फरक देशमा खेल छ, त्यसका लागि हामी अब तयार छाैँ। दीपेन्द्र सिंह ऐरी अहिले सबै किसिमले रेडी छ, अभ्यासहरू गरिरहेको छ। स्पिनर बलरको भूमिका धेरै नै महत्त्वपूर्ण छ, त्यसको लागि ललित र सागर छन्। त्यसले हाम्रो टिम ब्यालेन्स भएको छ।’

उनले दीपेन्द्र सिंह ऐरी सबै किसिमले फिट रहेको बताउँदै नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको सुनाए।

जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा टि २० विश्वकप सुरु हुँदै छ। नेपालको खेल भने जुन ४ मा नेदरल्याण्डसँग रहेको छ।

प्रकाशित: १९ जेष्ठ २०८१ १९:५८ शनिबार