खेल

परम्परागत तारा खेल: घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन

गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न फाइनल स्पर्धामा कास्कीलाई झिनो ३ अङ्कले अग्रता लिदैं च्याम्पियन भएको हो।

शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार ‘लिड’ लिए पनि दोस्रो दिन अन्तिम खेल बाँकी हुँदा म्याग्दी ‘ए’ ८७ का विरुद्ध ९० अङ्क प्राप्त गर्दै च्याम्पियन भयो। निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो स्थान प्राप्त गरेको मुस्ताङ जिल्लाले ८६ अङ्क बटुल्यो।

च्याम्पियन भएको म्याग्दीले नगद ७५ हजार, कास्कीले नगद ५० हजार र मुस्ताङले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे। 

प्रतियोगितामा म्याग्दी ‘ए’ का विकल जुग्जाली सर्वश्रेष्ठ धर्नुधर घोषित हुँदै नगद ५, हजार विशिष्ट धर्नुधर भएका मुस्ताङका एरवेज गर्वुजाले नगद ३ हजार प्राप्त गरे।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषद्का सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, म्याग्दी खेलकुद विकासका अध्यक्ष दिनेश केसी, परिषद्का लेखा प्रमुख निलकण्ठ ढकाललगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

समापन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं परिषद्का सदस्य योगेन्द्र शेरचनले प्रतियोगिता सफल बनाउन भूमिका खेल्नेहरु प्रति आभार व्यक्त गर्दै चौथो संस्करणका लागि जुट्न सबैलाई आग्रह गरे।

प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ६ जिल्लाका ४२ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित: १९ जेष्ठ २०८१ १९:१७ शनिबार

प्रदेशस्तरीय परम्परागत तारा खेल ः फाइनलस्पर्धामा घरेलु टोली म्याग्दी ए च्याम्पियन