खेल

क्यानको विवाद चाँडै समाधान हुन्छ : मन्त्री विश्वकर्मा

काठमाडौं– नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य र विवादलाई हल गर्नेगरी आफूले पहलकदमी लिने बताएका छन्। 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले खेलकुद क्षेत्रमा देखिएका विकृति, विसंगति र फोहोरलाई आफूले हटाउनेगरी पहलकदमी लिने स्पष्ट पारे। उनले क्यान, एन्फा र ओलम्पिक कमिटी लगायतका खेलकुद संघमा देखिएका विवाद तथा समस्याहरुलाई छिट्टै समाधान गर्नेपनि विश्वास दिलाए। 

मन्त्री विश्वकर्माले भने, ‘नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा कठोर मेहनतका साथ प्रस्तुत भएर उपलब्धिहरु हाँसिल गरेकोमा गर्व महशुस भएको छ, सिँगो राष्ट्रको गौरवलाई माथि उठाउन खेलाडीहरुले महत्वपूर्ण योगदान पुर्याउनुभएको छ, अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा मेहनत गर्नुहुने प्रशिक्षक, खेलाडी सबैमा बधाई तथा धन्यवाद र सम्मान अर्पण गर्दछु।’

खेलकुद क्षेत्रमा नयाँ भाईव्रेशन आउनेगरि काम गर्ने उनको प्रतिबद्धता थियो। उनले भने, ‘खेलकुद क्षेत्रको विकास गर्नेगरि सु–व्यवस्थित गर्ने संकल्प लिएको छु, खेलाडीहरुले अहिले भोग्नुपरेको समस्या र चुनौतीलाई हल गर्नुपर्छ, युवा शक्तिलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनेगरी व्यवस्थित कार्ययोजना छिट्टै ल्याउँछु।’

सन् २०१९ मा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुने भएकोले उक्त प्रतियोगिता समयमै सम्पन्न गर्नेगरि आफूहरु तयारीमा जुटिसकेको पनि उनले जनाए। 

त्यस्तै ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समयमै सम्पन्न गर्ने उनले विश्वास दिलाए। उनले भने, ‘आर्थिक वर्षभित्रै यो प्रतियोगिता गर्न चाहिने स्डेडियम, कवड हल, सबै निर्माण भैसक्छन्, यसको लागि पनि हामीले अनुगमन समिति बनाएका छौं, दुई हप्ताभित्रै समितिले रिपोर्ट दिन्छ।’

प्रकाशित: १० चैत्र २०७४ १२:५० शनिबार