खेल

आईपीएल उपाधि भिडन्त आजः कमिन्स र अय्यरमध्ये कसले रच्ला इतिहास?

१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधिका लागि आज दुई टिमबीच भिडन्त हुँदैछ।

आजको फाइनल खेलमा २ पटकको उपाधि विजेता कोलकोत्ता नाइट राइडर्स र एकपटकको विजेता सनराइजर्स हैदरावाद आमने सामने हुनेछन्। आजको खेल चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

विश्वकप विजेता एवं हैजरावादका कप्तान प्याट कमिन्ससँग आज इतिहास रच्ने अर्को अवसर छ। कोलकाता नाइट राइडर्ससँग पहिलो क्वालिफायरमा फराकिलो हारको सामना गरेको पाँच दिनपछि नै कमिन्सको टोली हैदराबाद आज फाइनलमा सोही टोलीको चुनौती सामना गर्दै छ। प्याटको कप्तानीमा रहेको हैदराबादले शुक्रवार अन्तिम क्वालिफायरमा राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो।

दुई पटकको च्याम्पियन कोलकाताले गत मङ्लवार अहमदाबादमा हैदराबादलाई ८ विकेटले हराएको थियो।

हैदराबादले विश्वकै चर्चित र लोकप्रिय फ्रेन्चाइज लिग एक पटक मात्र जितेको छ, त्यो पनि सन् २०१६ मा अस्ट्रेलियाकै स्टार डेविड वार्नरको कप्तानीमा। कमिन्सले गत वर्ष नै विश्व टेस्ट च्याम्पियनसिप र एकदिवसीय फरम्याटमा अस्ट्रेलियालाई विश्व च्याम्पियन बनाएका थिए। त्यसकारण पनि आजको खेलमा उनीमाथि सबैको ध्यान रहने छ।

कोलकाताले यस सिजन तीन खेल मात्र गुमाएको छ। अलराउन्डर सुनील नारिनलाई ओपनिङमा पठाउने कोलकाताको निर्णय सही साबित भएको छ। किनकि सुनीलले एक शतकसहित ४८२ रन जोडेका थिए। स्पिनर वरुण चक्रवर्थी र तीव्र गतिका बलर हर्षित रानाले संयुक्त रूपमा ३७ विकेट लिए। यही प्रदर्शनले गर्दा पनि कोलकाता शीर्ष स्थानमा पुगेको हो।

प्रकाशित: १३ जेष्ठ २०८१ ०७:३२ आइतबार

#ipl - indian premier league #Sunrisers_Hyderabad #kolkottanight_riders #Shreyas_Iyer #pat_comin