खेल

आर्मीकी सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवकी सुनसरी रोकायाले जितेकी छन्।

उनले निर्धारित दूरी ३ घण्टा ४४ मिनेट ५२ सेकेण्डमा पूरा गरिन्। दोस्रो भएकी फुङलिङकी कुमारी गुरुङलाई सोहि दूरी छिचोल्न ४ घण्टा २२ मिनेट ५३ सेकेण्ड खर्चिनु पर्यो। तेस्रो भएकी बिनिता तामाङले ४ घण्टा २७ मिनेट ४९ सेकेण्डमा उक्त दूरी पार गरिन्।

महिला हाफ म्याराथनका लागि फुङलिङबाट पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर पुनःफुङलिङ फर्किनुपर्ने दूरी निर्धारण गरिएको थियो। प्रतियोगितामा कूल ४७ जना सहभागी थिए।

प्रतियोगिताका विजेताले ८१ हजार १११ रुपैयाँ, उपविजेताले ५१ हजार १११ रुपैयाँ र तृतीय हुनेले ३१ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन्।

प्रकाशित: ७ जेष्ठ २०८१ १३:२६ सोमबार

#Taplejung Tourism Festival #Women's Half Marathon Competition