खेल

खुल्ला म्याराथन तथा महिला हाफ म्याराथन सुरु

‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ को अन्तिम दिन आज खुल्ला म्याराथन तथा महिला हाफ म्याराथनका साथ अन्तरपालिका स्तरीय मेयर कप भलिबल खेलको फाइनल खेल हुदैछन्।

खुला म्यारथन केही अघि मात्रै सुरु भएको छ। खुला म्याराथनतर्फ १ सय १३ जना तथा महिला हाफ म्याराथनतर्फ ४७ जना प्रतिस्पर्धी सहभागी भएका छन्।

खुलातर्फ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर पुगेर पुनः सदरमुकाम फुङलिङ फर्कने गरी करिब ४८ किलोमिटर दूरीको म्याराथन तय गरिएको छ। सदरमुकाम फुङलिङबाट काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फर्कने गरी करिब ३९ किलोमिटर दूरीमा महिला हाफ म्याराथन हुने छ।

खुलातर्फका विजेताले नगद १ लाख ५१ हजार १११ रूपैयाँ तथा महिलातर्फका विजेताले नगद ८१ हजार १११ रूपैयाँ पाउने छन्। खुला उपविजेताले नगद १ लाख ११ हजार १११ रूपैयाँ प्राप्त गर्दा महिला उपविजेताले नगद ५१ हजार १११ रूपैयाँ पाउने छन्।

त्यस्तै अन्तरपालिका स्तरीय मेयर कप भलिबल खेलयता उपाधिका लागि सिदिङ्वा गाउँपालिकाले पाथीभरा याङवरक गाउँपालिका आमनेसामने हुँदैछन्। सिदिङ्वाले सिरिजङ्गालाई र पाथीभरा याङवरकले मिक्वाखोला गाउँपालिकालाई पराजित गर्दै फाइनल उत्रिएका हुन्।

सिदिङ्वा र पाथीभरा याङवरक पछिल्ला लगातार खेलहरुमा भेट भइरहेका छन्। पछिल्ला दुई खेलमा पाथीभरा याङवरक भाग्यमानी दरिएको छ। सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिकाले आयोजना गरेका अन्तरपालिका स्तरीय भलिबलमा पाथीभरा याङवरक बिजेता भएको थियो। मेयर कप भलिबलको बिजेताले नगद २ लाख ७५ हजार १ सय तथा उपबिजेताले नगद १ लाख ४० हजार १ सय रुपैयाँ पुरस्कार पाउने छन्। सेमी फाइनल पुग्ने सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाले जनही ४५ हजार १ सय रुपैयाँ पुरस्कार पाउने छन्।

प्रकाशित: ७ जेष्ठ २०८१ ०८:०३ सोमबार

#Taplejung #marathan #womens