खेल

अरहान्तकेशर र स्वस्थानीलाई उपाधि

अरहान्तकेशर सिंह र स्वस्थानी श्रेष्ठले शुक्रबार एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जितेका छन्।

नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास हलमा सम्पन्न प्रतियोगितामा अरहान्तले पुरुष एकल र स्वस्थानीले महिला एकलमा उपाधि जितेका हुन्। अरहान्तले फाइनलमा अमिर ब्लोनलाई ३-१ को सेटमा हराए। उनले अमिरविरुद्ध पहिलो सेट ११-५ ले सहजै आफ्नो बनाए।

तर दोस्रो सेट भने उनले ६-११ ले गुमाउन पुगे। यद्यपि, त्यसपछि तेस्रो र चौथो सेट सहजै आफ्नो बनाउँदै अरहान्त च्याम्पियन भए। यस क्रममा उनले तेस्रो सेट ११-१ र चौथो सेट ११-५ ले आफ्नो पक्षमा पारे।

महिलामा स्वस्थानीले फाइनलमा राष्ट्रिय च्याम्पियन विपना ब्लोनलाई पनि ३-१ को सेटमा हराइन्। स्वस्थानीले पनि पहिलो सेट ११-७ ले आफ्नो बनाउँदै अग्रता बनाइन्। तर, उनले दोस्रो सेट ९-११ ले गुमाउन पुगिन्।

तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपछि स्वस्थानी च्याम्पियन बन्न सफल भइन्। यस क्रममा स्वस्थानीले तेस्रो सेट ११-४ र चौथो सेट ११-५ ले आफ्नो बनाइन्। पुरुषमा दीपक थापा र महिलामा कृष्णा थापा तेस्रो भए।

शुक्रबार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा दीपकले पासाङ ब्लोनलाई हराए। दीपकले पनि पासाङमाथि ३-१ को जित निकाले। दीपकले पहिलो सेट २-११ ले गुमाए पनि उत्कृष्ट पुनरागमन गरे। तर, त्यसपछिका तीन सेट दीपकले सहजै आफ्नो बनाउँदै तेस्रो स्थान प्राप्त गरे।

दीपकले दोस्रोदेखि चौथो सेट क्रमशः ११-०, ११-६ र ११-४ ले आफ्नो बनाए। महिला एकलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा कृष्णाले अस्मिता नगरकोटीलाई सीधा सेटमा हराइन्। कृष्णाले अस्मितामाथि ११-५, ११-७ र ११-३ को जित निकालेकी हुन्।

यस प्रतियोगिताबाट नयाँ वरीयता निर्धारण गरिएको छ। उनीहरूको वरीयता यसै वर्षको आगामी चैत महिनासम्म रहनेछ। यसै गरी शीर्ष चार स्थानमा रहने खेलाडीलाई स्क्वास संघले नगदबाट पुरस्कृत गरेको थियो।

प्रकाशित: ५ जेष्ठ २०८१ ०८:३९ शनिबार

Arhantkeshar Singh Swasthani Shrestha NSRA National Ranking Squash Tournament title