खेल

नविताको ओलम्पिक सम्भावना समाप्त

प्रतिस्पर्धाका क्रममा नविता श्रेष्ठ। तस्बिर सौजन्य : श्याम चित्रकार

नौपटक टेबल टेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठको पेरिस ओलम्पिक २०२४ खेल्ने लक्ष्य समाप्त भएको छ।

पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली छनोट प्रतियोगितामा मंगलबार नविता क्वार्टरफाइनलमा श्रीलंकाकी प्रतिद्वन्द्वीसँग पराजित भइन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा उनी श्रीलंकाकी इसारा मुदुरांगीसँग ४-३ ले स्तब्ध हुन पुगिन्। 

पहिलो तीन सेट गुमाउँदा नविता लज्जास्पद हारको संघारमा पुगेकी थिइन्। यस क्रममा इसाराले नवितामाथि ११-८, ११-४ र ११-६ को जित निकालिन्। तर, नविताले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीको स्थितिमा ल्याइन्।

त्यसपछिका तीन सेट नविताको पक्षमा रह्यो। नविताले १३-११, ११-५ र ११-२ ले सेट आफ्नो पारिन्। तर, निर्णायक सेटमा भने नविता चुकिन् र ओलम्पिक खेल्ने लक्ष्य पूरा हुन सकेन। यो सेट इसाराले ११-५ ले जितिन्।

नेपालकै इभाना थापाले महिला एकलमै सेमिफाइनल यात्रा तय गरेकी छन्। इभानाले सेमिफाइनलमा बुधबार श्रीलंकाकै बिमान्दी बन्दराविरुद्ध चुनौती प्रस्तुत गर्दै छिन्।

उनले यसअघि बाई पाएकी थिइन्। नेपालका स्यान्टु श्रेष्ठ र संयोग कपालीले पुरुष एकलमा सेमिफाइनलमा स्थान पक्का गरेका छन्।

प्रकाशित: २ जेष्ठ २०८१ ०८:२४ बुधबार

Navita Shrestha lost to Sri Lanka Table Tennis National Champion Paris Olympics 2024