खेल

विद्यालयमा ई स्पोर्ट्सका लागि साझेदारी

विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रवद्र्धन गर्ने उद्देश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ।

ईशानले विद्यालय खेलकुद महासंघसँग आइतबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै सहकार्य प्रक्रिया अगाडि बढाएको हो। ईशानका अध्यक्ष अञ्जन धमला र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को पनि साझेदारी रहने सम्झौतापत्रमा उल्लेख छ। आइएसएफको प्रतिनिधिका रूपमा राजकुमार कार्कीले समझदारीपत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार विद्यालय खेलकुदमा ई स्पोर्ट्सलाई समावेश गर्ने र विद्यालय खेलकुदको अभियानमा ई स्पोर्ट्स साझेदार संस्थाको रूपमा रहने सहमति गरिएको छ।

विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलका प्रतियोगिता, पूर्वाधार विकास, नीति निर्माण, तालिम तथा क्षमता अभिवृद्धि, खोज अनुसन्धानमा दुवै संस्थाले मिलेर काम गर्ने पनि सम्झौतामा उल्लेख छ। आइएसएफका केन्द्रीय सदस्यसमेत रहेका राजकुमार कार्कीले विद्यालय खेलकुद र ई स्पोर्ट्स खेलको विकासमा सम्झौता कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन्। उनले नयाँ खेल स्पर्धाको रूपमा विकास भइहेको ई स्पोर्ट्सलाई विद्यालयसम्म लैजाने उद्देश्यले सम्झौता गरिएको बताए।

ई स्पोर्ट्स संघ नेपालका अध्यक्ष अञ्जन धमलाले खेलकुदको मेरुदण्डै विद्यालय खेलकुद रहेको बताए। नेपालको ई स्पोर्ट्स खेलको विकासमा यो सम्झौताले महŒवपूर्ण योगदान गर्ने धमलाको विश्वास छ। उनले विद्यालयमा नै ई स्पोर्ट्सप्रति आकर्षण रहेकाले पछिल्लो सम्झौताले दूरगामी प्रभाव पार्ने धारणा राखे। विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले खेलकुदबाट मात्र नेपालले अन्तर्राष्ट्रिय रूपमा जित्न सक्ने उल्लेख गर्दै परिणाम निकाल्ने गरी दुवै संस्थाले काम गर्नुपर्ने बताए।

प्रकाशित: ३१ वैशाख २०८१ १०:३२ सोमबार

#E sports game #E Sports Association Nepal (Ishan)