खेल

ललितपुर मेयर्स-११ को विजयी सुरुआत

ललितपुर मेयर महिला ट्वान्टी-२० क्रिकेट

राष्ट्रिय टोलीकी सदस्य पूजा महतोको कप्तानीमा रहेको ललितपुर मेयर्स- ११ ले ललितपुर मेयर महिला ट्वान्टी- २० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

शनिबारदेखि कीर्तिपुरमा सुरु प्रतियोगितामा ललितपुर मेयर्स- ११ ले बाग्मती प्रदेशमाथि सात विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको हो। त्रिवि क्रिकेट मैदानमा बाग्मतीले दिएको ५३ रनको लक्ष्य ललितपुर मेयर्स- ११ ले १३.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै भेट्टायो।

ललितपुर मेयर्स- ११ को जितमा कप्तान पूजाले अलराउन्ड प्रदर्शन र कृतिका मरासिनीले उत्कृष्ट बलिङ गरे। सामान्य लक्ष्य पछ्याएको ललितपुर मेयर्स- ११ का लागि कप्तान पूजा २३ रनमा अविजित रहिन्। ओपनर लक्ष्मी चौधरीले १२ रन जोडिन्।

ओपनर किरण कुँवर र सरस्वती जिएम समान ६ रनमा रनआउट भए। तर, कप्तान पूजाले अविजित रहँदै लक्ष्य पूरा गरिन्। बाग्मतीका बलरले खासै चुनौती दिन सकेनन्। खुसी डंगोलले एक विकेट लिँदा पनि अन्य बलर विकेटविहीन रहे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले खराब ब्याटिङ गर्‍यो र १४.२ ओभरमा ५२ रनमै अलआउट भयो। बाग्मतीकी कप्तान अस्मिना कर्मचार्यले २० रन र कञ्चन श्रेष्ठले ११ रन जोडे। अन्य ब्याटर भने दोहोरो अंकमा रन बटुल्न असफल रहे। अस्मिनाले २६ बलमा तीन चौका प्रहार गरिन्।  

त्यसबाहेक बाग्मतीको इनिङमा थप बाउन्ड्री निस्किएन। ललितपुर मेयर्स–११ का बलरले उत्कृष्ट बलिङ गर्दै बागमतीको ब्याटिङ धराशयी बनाए। कृतिका मरासिनीले दुई ओभरमा चार विकेट लिँदै बाग्मतीको इनिङ धराशयी बनाइन्। उनले चार रन मात्र दिइन्।

सरस्वती कुमारीले तीन ओभरमा तीन विकेट लिँदा ११ रन मात्र दिइन्। कप्तान पूजाले ३.२ ओभरमा दुई विकेट लिँदा १३ रन खर्चिइन्। आइतबार नै ललितपुर मेयर्सले दोस्रो खेल सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ। ललितपुर महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुगेका चार टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशसँगै ललितपुर मेयर्सले प्रतिस्पर्धा गर्दै छन्। सिंगल राउन्ड रोबिनका आधारमा जारी प्रतियोगिताको लिगमा शीर्ष दुई स्थानका दुई टोलीले फाइनलमा खेल्ने छन्।

प्रकाशित: ३० वैशाख २०८१ ०८:०४ आइतबार

Lalitpur Mayors-11 won Lalitpur Mayor Women Twenty-20 Cricket Tournament Lalitpur Mayors-11 Bagmati Pradesh