खेल

सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। वसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा सुरु भएको पहिलो दिन नै क्वार्टरफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ।

सिनियर ब्वाइजतर्फ ३ बाइ ३ मा समूह ‘ए’ र ‘बी’ बाट क्वार्टरफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो। समूह ‘ए’ बाट गोल्डेनपिक विजेता र लालीगुराँस नेसनल एकेडेमी उपविजेता हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

समूह ‘बी’ बाट डिफेन्डिङ च्याम्पियन ग्रिनल्यान्ड र स्किब्स क्रमशः विजेता र उपविजेताका हैसियतले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे।

जुनियर ब्वाइजमा आयोजक बिएनए, लालीगुराँस र ग्रिनल्यान्डले सफलता पाए। वसुन्धरास्थित घरेलु कोर्टमा बिएनएले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २६–१७ ले पराजित गर्‍यो। बिएनएको जितमा सिद्धान्त शर्माले १० अंक योगदान दिए।

प्रजेश महर्जनको ६ अंक सहयोगमा लालीगुराँसले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८-१३ ले हरायो। ग्रिनल्यान्डले न्युटनमाथि २०-१६ को जित दर्ता गर्‍यो। ग्रिनल्यान्डका वियोन गिरीले ६ स्कोर गरे। प्रतियोगिताको टोखा नगरपालिका-५ का अध्यक्ष मदन गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे।

प्रकाशित: २९ वैशाख २०८१ ०७:४० शनिबार

7th BNA Cup Inter-School Basketball Tournament Vasundhara National Academy Quarter Final