खेल

रंगशालाबारे कागजात एन्फालाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्न नदिन आवश्यक पर्ने कागजात अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिएको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नभएको भन्दै विश्वकप छनोट चरणको खेल आयोजना नेपालबाट फिर्ता लिएको थियो।

यस क्रममा एएफसीले स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दी स्टेडियमका विषय रंगशालामा नरहेको भन्दै एन्फालाई पत्र पठाएको हो। यो निर्णयसँगै एन्फाले चर्को आलोचना पनि सामना गर्नुपर्‍यो। यो विषय संघीय ससंदीय समितिसम्म पुग्यो।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँगै राखेपका सदस्यसचिव टंकलाल घिसिङले बिहीबार मात्र उक्त समितिमा आयोजना खोसिएको बारे जबाफ दिएका थिए।

यस क्रममा घिसिङले विश्वकप छनोट खेल आउन करिब एक महिना बाँकी रहेको र एएफसीले माग गरेको विषय एक हप्ताभित्र नै पूरा हुने प्रस्ट पारेका थिए।

एक दिनपछि राखेपले एन्फालाई आवश्यक पर्ने कागजात उपलब्ध गराएको हो। एएफसीका प्रतिनिधिको प्रारम्भिक अनुगमनपश्चात् नेपालको संयुक्त अरब इमिरेट्स (युएई) सँग आगामी जेठ २४ गते हुने विश्वकप छनोटचरणको ‘होम म्याच’ गुमेको हो।

यद्यपि, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले उक्त खेल नेपालमा नै आयोजना गराउन पहल भइरहेको जनाउँदै आएका छन्।

राखेपले पनि एएफसीबाट माग भएका चार विषय एन्फालाई दिएपछि खेल आयोजना हुने सम्भावना बढेको छ। प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययनपश्चात् तयार पारेको विवरण राखेपले एन्फालाई दिएको हो।

सदस्य-सचिव टंकलाल घिसिङको उपस्थितिमा राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गरेका थिए।

आगामी दिनदेखि अन्तर्राष्ट्रिय महासंघहरूको पूर्वाधार मापदण्ड राखेपलाई समयमै उपलब्ध गराउन सदस्यसचिव टंकलाल घिसिङले एन्फाको ध्यानाकर्षण गराए।

प्रकाशित: २९ वैशाख २०८१ ०६:५८ शनिबार

Documents about the stadium to ANFA National Sports Council International Accreditation of Dashrath Stadium Asian Football Confederation