खेल

भीमबहादुरले पारालिम्पिक छनोट खेल्ने

४१ वर्षे पारा पौडीबाज भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन्। यसै वर्षको अगस्ट २८ देखि फ्रान्समा पेरिस पारालिम्पिक हुँदै छ।

यसअघि पारा तेक्वान्दोकी पलेशा गोवर्धनले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकको यात्रा तय गरिसकेकी छन्। उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्न लागेकी नेपालको तेस्रो खेलाडी पनि हुन्।

भीमले पनि छनोट पार पार्दै पेरिस यात्रा गर्ने लक्ष्य राखेका छन्। पेरिस पारालिम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन्। सिंगापुरमा मे १७ देखि १९ सम्म हुने प्रतियोगितामा भीमले पुरुष ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

दुवै स्पर्धामा भीमकै नाममा राष्ट्रिय कीर्तिमान पनि छ। ५० मिटरमा ३३.३४ सेकेन्ड तथा १०० मिटरमा एक मिनेट २१ सेकेन्डको भीमको व्यक्तिगत उत्कृष्ट टाइमिङ नै राष्ट्रिय कीर्तिमान हो।

सिंगापुरमा हुने प्रतियोगिताका लागि भीमले विगत दुई महिनादेखि कालोपुलस्थित वेस्ट भेन्युमा नियमित प्रशिक्षण गरिरहेको नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए। टोलीको अफिसियलमा श्रेष्ठ छन्। भीमले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्। उनले चीनको हाङझाउमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए।

त्यसअघि सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न तेस्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनको विश्व पारा पौडी प्रतियोगितामा पनि भीमले नेपालको प्रतिनिधित्व गरेका थिए। भीमले पेरिस पारालिम्पिकमा छनोट हुने लक्ष्य रहेको बताए।

‘खेलाडीको मुख्य लक्ष्य नै ओलम्पिक खेल्ने हुन्छ। यो एउटा सुनौलो अवसर हो। छनोट हुन सक्दो प्रयास गर्नेछु,’ भीमले भने। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार नै भीमलाई बिदाइ गरे। सो अवसरमा सदस्यसचिव घिसिङले पेरिस पारालिम्पिकमा छनोट हुने दोस्रो खेलाडी बन्न शुभकामना दिए।

‘पेरिस पारालिम्पिकमा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन छनोट भई इतिहास रचिसकेकी छन्। पलेशा पारालिम्पिकमा छनोट चरण पार गरी खेल्ने पहिलो नेपाली खेलाडी हुन्,’ सदस्यसचिव घिसिङले भने, ‘अब पालो तपाईं (भीमबहादुर) को हो। राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नुहोस्। शुभकामना छ।’

भीम र अफिसियल श्रेष्ठ आगामी मे १५ मा सिंगापुर जाने कार्यक्रम छ। प्रशिक्षक विजेनमान श्रेष्ठ भने आइतबार जाँदै छन्।

प्रकाशित: २९ वैशाख २०८१ ०६:२९ शनिबार

Paris Paralympics 2024 Bhimbahadur Kumal 41 year old Para-Podger selection competition